२२ असार २०८३, सोमबार
खेल–जीवन

दैनिक ६ लिटर दूध खाएर देशका लागि कुस्ती खेल्ने राजवीरको कथा

मंसिर २१, २०७६
दैनिक ६ लिटर दूध खाएर देशका लागि कुस्ती खेल्ने राजवीरको कथा

सिरहाका ४६ वर्षीय राजवीर यादव नेपालको राष्ट्रिय स्तरका पूर्व कुस्ती खेलाडी हुन् । नेपालमा आयोजना हुने गरेको राष्ट्रिय प्रतियोगितामा उनी प्रायः जसो प्रथम भएर स्वर्ण पदक नै जित्ने गर्थे । कुस्ती खेल्नकै लागि उनको घरमा उनका आमा बुवाले ६ वटा भैंसी पालेका थिए । उनले २४ वर्षको उमेरबाट उनले कुस्ती खेल्न थालेका थिए । त्यति बेला उनका दाजु राज कुमार यादव पनि कुस्ती खेल्ने गर्थे, तर पछि भने खेल्न छोडेका थिए । हुन त उनका दाजुले पनि राष्ट्रिय प्रतियोगितामा सहभागी भएर कास्य तथा रजत पदक जितेका थिए । त्यति बेला उनको घरमा उनका आमाबुवाले एउटा मात्र भैंसी पालेका थिए ।

जब राजवीर कुस्ती खेल्न थाले र कुस्तीमा राम्रो पनि गर्न थाले उनको घरमा भैंसीको संख्या पनि थपिँदै गयो । दिनमा २ लिटर सम्म मात्र दूध खान पाउने गरेका राजवीरले पछि दिनको ६ लिटर भैंसीको दूध दिनहुँ खान थाले । ‘मैले कुस्ती खेल्न थालेपछि मेरो घरमा आम्दानी समेत सौभाग्यले बढ्न थाल्यो । आम्दानी बढ्न थालेपछि मेरो घरमा ७ वटा भैंसी पाल्न थालिएको थियो,’ राजवीरले भने, ‘त्यसपछि केही दूध दाजुले खानुहुन्थ्यो भने दैनिक ६ लिटर दूध म आफैं खान्थें । बाँकी रहेको दूध मात्र आमाबुवाले बेच्न पाउनुहुन्थ्यो ।'

बिहान सुतेर उठ्ने बित्तिकै हल्का तातो दूध २ लिटर जति खाएर बिहानै-बिहान अखडामा कुस्ती खेल्न जान्थे । त्यसपछि कुस्ती खेलेर आएपछि दिनमा भात दाल तरकारीसँगै २ लिटर दूध पिउने गर्थे उनी । खाना खाएर केही समय सुत्ने र फेरी साँझ गाउँको अखडामा गएर अभ्यास गर्थे उनी । त्यसपछि रातिसमेत खाना खाने बेला २ लिटर दूध खाने गर्थे । यसरी उनी दिनहुँ ६ लिटर भैंसीको दूध खाएर कुस्ती खेल्ने गर्थे ।

एक पटक भारतमा कुस्ती प्रतियोगितामा खेल्न जाँदा एकै पटक कति दूध खान सक्छस् भनेर त्यहाँका खेलाडीहरूले उनलाई सोधेका रहेछन । जबाफमा ६ लिटर दूध एकैपटक पिउन सक्छु भने पछि उनीहरूले विश्वासै गरेनन् रे ! त्यसपछि उनले भैंसी दुहुन लगाएर काँचै दुध ६ लिटर खाइदिए पछि बल्ल उनी साँचै दुध खाने गर्छन र असली पहलवान हो भनेर पत्याएका थिए रे !

२०५१ सालमा दोस्रो राष्ट्रिय प्रतियोगितामा उनी प्रथम भएर स्वर्ण पदक जित्न सफल भएका थिए । २०५३ सालमा वीरगञ्जमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण पदक जित्न सफल भएका उनी जब २०५८ सालमा काठमाडौंमा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए त्यति बेला नै दरबार हत्या काण्ड भएको थियो । त्यस प्रतियोगितामा पनि स्वर्ण पदक जित्न सफल भएका थिए उनी ।

उनीसँगै तराईका धेरैजसो खेलाडीहरू कुस्तीमा अब्बल खेलाडीका रूपमा पहिचान स्थापित गरेका थिए । विगतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तराईकै कतिपय खेलाडीहरुले नेपालको तर्फबाट प्रतिनिधित्व गरेर विभिन्न पदक समेत जितिसकेका छन् । महोत्तरीकै बगराका राजीशरण यादवले सागमा कास्य पदक जितेका छन् भने धनुषाका पाण्डव यादवले समेत कास्य पदक जित्न सफल भएका छन् । पर्साका धर्मराज यादव, शिवधारी यादवजस्ता कतिपय खेलाडीहरुले सागमा विगतमा पनि कास्य तथा रजत पदक जित्न सफल भएका छन् । सागमा स्वर्ण पदक भने हालसम्म नेपालले जित्न सकेको छैन ।

*****

कुस्ती तराईमा धेरै नै लोकप्रिय खेल थियो । प्रायः जसो गाउँ घरमा युवा कुस्ती खेल्ने गर्थे । गाउँमा रहेको घडेरी, खेत, गाछि, खलिहान कुस्तीका अखडा हुन्थ्यो । उनीहरू बिहान र बेलुका कुस्तीको दिनहुँ अभ्यास समेत गर्ने गर्थे । तर सशस्त्र द्वन्द्वको कारण तत्कालीन माओवादी विद्रोही समूह र राज्यको तर्फबाट सेना तथा सुरक्षाकर्मीको समेत निशानामा कुस्तीका खेलाडी नै परेका थिए । धेरैजसो कुस्ती खेलाडीहरूलाई राज्य र विद्रोही दुवै समूहले अपहरण गरेर लाने, यातना दिने तथा हत्यासमेत गर्ने क्रम बढेपछि कुस्तीका खेलाडीहरूमा डर बढेको थियो । 

‘सिरहाको सुखिपुरका कुस्तीका राष्ट्रिय खेलाडी फेकन यादवलाई तत्कालीन नेपाली सेनाले गोली हानेर हत्या गरेको थियो,’ राजवीर यादवले भने, ‘त्यस घटनामा उनीसँगै कुल ५ जना कुस्ती खेलाडीलाई सेनाले गोली हानेर मारेको थियो ।’ त्यति मात्र होइन रौतहटका अन्तर्राष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीलाई तत्कालीन विद्रोही समूह माओवादीले गोली हानेर हत्या गरेको उनले बताए । शुरूमा बैरागीलाई सेनाले माओवादी भनेर समातेर लगेको थियो । पछि दक्षिण एसियाली खेलकुदमा समेत भाग लिइसकेको नेपालको अन्तर्राष्ट्रिय कुस्ती खेलाडी रहेको प्रमाण पत्रहरू देखाएपछि सेनाले छोडेको थियो । ‘तर सेनाले उनलाई रिहा गरे पनि तत्कालीन माओवादीले उनलाई गोली हानेर हत्या गरेको थियो,’ यादवले थपे, ‘धेरै खेलाडीहरूको हामीले पहलकदमी गरेर ज्यान जोगाउन सफल भएका थियौं भने धेरैमा असफल भएर साथी न गुमाउनु परेको थियो ।’

कुस्तीका खेलाडीहरू पहलवान हुन्छन्, ताकतवर हुन्छन् भनेर उनीहरू नै माओवादीमा लागेका हुन् कि भन्ने सेनाको आशंका हुने गर्थ्यो भने भने माओवादीहरू पनि जबरजस्ती बन्दुकको नोखमा अपहरण गरेर माओवादी बनाउनका लागि खेलाडीहरूलाई नै निशाना बनाउने गरेका कारण कुस्तीका खेलाडीहरू राज्य र विद्रोही गरेर दुवै पक्षको चेपुवमा परेको थियो । ‘त्यसैले धेरैजसो कुस्तीका खेलाडीहरू खेल छोडेर विदेश पलायन भए,’ यादवले थपे, ‘कि त भएकै युवाहरूले कुस्ती खेल्न नै छाडे ।’

सागका कारण कुस्तीको पुनर्जीवन

अहिले जनकपुरधाममा मंसिर २० देखि २३ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५ वटा देश सहभागी भएको कुस्ती खेलको प्रतियोगिता सञ्चालन भइरहेको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटान गरी ५ देशका खेलाडीहरू सहभागी भएको उक्त प्रतियोगिता जनकपुरधाममा आयोजना हुनाले लोप भइरहेको कुस्तीलाई पुनर्जीवन प्रदान गर्न संजिवनी बुटी जस्तै काम गरेको धनुषा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंह बताउँछन् । उसो त अहिले पनि धनुषा, महोत्तरी, सिरहासहित प्रदेश २ का आठ वटै जिल्लाका केही गाउँहरूमा नियमित रूपमा कुस्ती अखडा सञ्चालन भएको छ । जहाँ युवा पुस्ताका खेलाडीहरू नियमित रूपमा बिहान र बेलुका अभ्यास गर्ने गरेका छन् ।

राज्यको उपेक्षा

नेपालमा खेलकुदको प्रोत्साहन प्रति राज्यको तर्फबाट हुनुपर्ने सहयोग नभएकाले पनि समस्या भएको पूर्व कुस्ती खेलाडी तथा हाल धनुषाको कुस्ती खेलका सहायक प्रशिक्षक समेत रहेका यादवको गुनासो छ । भारतमा कुस्ती खेलाडी एक पटक सागको लागि बन्द प्रशिक्षणका लागि छनोट भइसकेपछि उनीहरूलाई निरन्तर बन्द प्रशिक्षणमा राख्ने गरिन्छ । तर नेपालमा भने यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा बन्द क्याम्पमा परे पनि प्रतियोगिता सम्पन्न भइसकेपछि घर फर्किनुपर्ने हुन्छ । अनि आफ्नो घरमा त्यसै बेरोजगार भएर बस्नु पर्ने स्थिति एकातर्फ आउँछ भने अर्कोतर्फ खेलको अभ्यासलाई समेत आफ्नै बल बुतामा निरन्तरता दिनुपर्ने चुनौती समेत रहने गर्छ ।

‘भारतमा सागमा प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई भारत सरकारले त्यहाँको सेनामा जागिर दिएको हुन्छ, रेल्वेमा जागिर दिएको हुन्छ,’ यादवले थपे, ‘तर हाम्रो देशमा खेलाडीलाई जागिर नदिने गरेका कारण एकातर्फ भविष्यको चिन्ता हुन्छ भने अर्कोतर्फ खेललाई निरन्तरता दिने कि वैदेशिक रोजगारीमा पलायन हुने चिन्ताले ग्रस्त हुने गर्छन् ।’ तराईमा गाउँ घरमा खेलप्रति अभिभावकको समेत सहयोग नहुने हुँदा कुस्ती लोप हुन गएको भए पनि अहिले सागमा नेपाली टोलीले स्वर्ण पदक जित्न सके कुस्तीले पुनर्जीवन पाउने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्