
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको शनिवार अनुगमन गरेका हुन् ।
कुनै समय यात्रु अभावमा अवरुद्ध भएपनि पछिल्लो समय दैनिक २ उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाबारे उनले अनुगमन गरेका हुन् । अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाए ।
‘अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन,’ उनले भने, ‘अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।’ उनले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई १ हजार २०० मिटर बनाउने समेत बताए ।
स्थानीय सरकारले नियमित हवाई सेवा शुरू गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरू गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने उनले बताए ।
त्यस अवसरमा प्रदेशसभा सदस्य बिमला ओली, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको टोलीले अनुगमन गरेको थियो ।