२१ जेठ २०८३, बिहीबार

नेपालमा पर्यटक भित्र्याउन चिनियाँ संस्थासँग सहमति

मंसिर २३, २०७६
नेपालमा पर्यटक भित्र्याउन चिनियाँ संस्थासँग सहमति

नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारीता अघि बढाइने भएको छ ।

प्रयोजनका निम्ति प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

सम्झौताअनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रम, अनुसन्धानमार्फत आवश्यक ज्ञान तथा तथ्य सम्प्रेषण र वितरणलगायत मानव संसाधन विकाससम्बन्धी तालिम तथा कार्यशाला आयोजना गरिने जनाइएको छ ।

कोट्रीसँग रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने सहमति भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले बताए । उनका अनुसार मंसिर २० गते भारतको नयाँदिल्लीमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका प्रमुख कार्यकारी (सीईओ) प्रोफेसर डा. वल्फ ग्याङ्गले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीका तर्फबाट हेडअफ सेल्स नवीनकुमार सहभागी थिए । कोट्री चाइनाको आउट बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवं प्रख्यात अनुसन्धान संस्था हो ।

पाटा नेपालद्वारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चीन) मा रहेको बृहत् अवसर र सम्भाव्यतालाई उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाइना एक्सपो) देखि शुरूआत भई निरन्तर अगाडि बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्