
इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
प्रणाली बिहीवार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन् ।
सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिबाट भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेहुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रवारसम्मै जारी रहने छ ।