
हिमपातले सडकबाट टिप्पर चिप्लिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नम्बर ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा छन् ।
बिहीवार गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिप्पर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा अन्य २ घाइते भएका र उनीहरूको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ ।
मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए ।