
पार्टी एकता भएको डेढ वर्ष बितिसक्दा पनि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरूले पूर्णता पाएका छैनन् ।
नेकपाले गत ३१ साउनमा ३२ वटा केन्द्रीय विभाग गठन गरे पनि प्रमुख र उप्रमुखबाहेक सचिव र सदस्यहरू नियुक्त नहुँदा विभागहरू अपूरै रहेका हुन् । नेकपाको नियमावलीमा ३५ सदस्यीय विभाग गठन गर्ने व्यवस्था छ । विभागका प्रमुख र उपप्रमुखहरूले तत्कालीन एमाले र माओवादीका आधारमा भागबन्डा गरेर सदस्यहरूको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारी गरेका छन् ।
अधिकांश विभागका प्रमुख र उपप्रमुखले अध्यक्ष, वरिष्ठ नेता, महासचिवलगायत नेताहरूसँग परामर्श गरेर सूची बनाएका छन् । ती सूचीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयले अनुमोदन गरेपछि मात्र विभागले पूर्णता पाउनेछन् । प्रमुख र उपप्रमुखसहित पूर्वएमाले समूहबाट २० र पूर्वमाओवादी समूहबाट १५ जना रहने गरी सूची सिफारिस गर्न भनिएको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश साहले जानकारी दिए ।
दसैँअघि नै सिफारिस भइसकेका नामावलीको सूचीमा समेत सचिवालयले निर्णय नगरेपछि अधिकांश विभाग सक्रिय हुन पाएका छैनन् । ‘कतिपय विभागले सिफारिस पठाएका छन्,’ महासचिव विष्णु पौडेलले भने, ‘अब हामी छिट्टै निर्णय गरेर विभागलाई पूर्णता दिने तयारीमा छौं ।’ सबै विभाग सदस्यहरूको मनोनयन एकैपटक टुंग्याउने तयारीका लागि महासचिव पौडेलले सबै विभागका प्रमुख र उपप्रमुखहरूसँग समन्वय गरिरहेका छन् ।
२३ मंसिरमा बसेको केन्द्रीय सचिवालय बैठकले सात दिनभित्र विभागमा राखिने सदस्यहरूको नाम महासचिव पौडेलमार्फत बुझाइसक्न प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिएको थियो । विभागका सदस्यहरूको नाम धमाधम संकलन भएकाले आइतबारदेखि सुरु हुने स्थायी समिति बैठकबाटै सबै विभागहरूलाई पूर्णता दिने गरी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।