
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भारतले नेपालका भूभाग समेटेर नक्सा जारी गर्नु असह्य भएको उल्लेख गरिएको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार अपराह्न बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदनमा हालसालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपूलेक र सिमा नदी महाकालीको महान लिम्पियाधुरालाई समेत आफ्नो भू-भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको उल्लेख गरिएको छ ।
‘हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कुटनैतिक सम्बाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमीबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल शुरू गरिसकेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी र सरकारले सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।’
प्रतिवेदनले अन्तर्राष्ट्रिय परिस्थितिका उपरोक्त संकेतहरूले नेपालका अगाडि रहेका अवसर र चुनौतिहरूलाई देखाएका भन्दै राष्ट्रिय एकता एवम् परिपक्व राजनैतिक र कुटनैतिक पहलका आधारमा चुनौतिको समाना गर्न र अवसरहरूको सदुपयोग गर्नु नेपालको राष्ट्रिय जिम्मेवारी रहेको बताएको छ ।
यद्यपि सीमा विवादका सन्दर्भमा सरकारले आवश्यक कूटनीतिक र अन्य पहल गरिसकेकाले नेकपाको प्रतिवेदनमा यही विषय उल्लेख हुनु ठीक नभएको केही स्थायी कमिटी सदस्यले चर्चा गरेका थिए ।
‘सरकारले पहल गर्नुपर्ने विषयमा पार्टी बोलिरहनुपर्छ जस्तो लाग्दैन,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘महाकाली नदीबाट पूर्वका नेपालका भूभागहरू समेटेर भारतले नक्सा जारी गर्नु ठीक नभएको सर्वदलीय सहमति पनि भइसकेको छ । यस्तो अवस्थामा यो विषयलाई राजनीतिक प्रतिवेदनमा उल्लेख नगरेको भएपनि हुने थियो ।’