
काठमाडौं, २८ चैत –चालू आर्थिक वर्ष (आव) मा नेपालको परनिर्भरता अत्यधिक बढेर गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनसम्ममा नेपालले निर्यातको तुलनामा १३ गुणा बढी परिमाणको वस्तु आयात गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनासम्ममा नेपालले कुल ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । बैंकका अनुसार चालू आवमा भएको कुल वस्तु आयात गत वर्षको तुलनामा ४४ दशमलव २ प्रतिशतले बढी हो । गत आवमा यस्तो आयात १३ दशमलव ९ प्रतिशतले घटेको थियो ।
चालू आवको आठ महिनासम्ममा कुल वस्तु निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव ९ प्रतिशतले कमी आएको थियो ।
समीक्षा अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलव २ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ । रसायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरूको आयात भने समीक्षा अवधिमा घटेको छ ।
त्यस्तै, समीक्षा अवधिमा भारततर्फ १६ दशमलव ३ प्रतिशत, चीनतर्फ १३ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलव २ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरूको निर्यात घटेको छ ।
भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको बैंकले जनाएको छ ।
त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
५० प्रतिशतले बढ्यो व्यापार घाटा
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले बढेको बैंकले जनाएको । बैंकका अनुसार समीक्षा अवधिमा कुल व्यापार घाटा ५ खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ८ प्रतिशत रहेको थियो ।