
स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको विरोधमा बिहीवार बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले प्रदर्शन गरेको छ ।
नगर प्रहरीको ज्यादति रोक्न माग गर्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् ।
बुधवार नगर प्रहरीको टोलीले सडकको फुटपाथभन्दा बाहिर बदाम बिक्री गर्दै गरेका स्वरोजगार कृष्ण अर्यालमाथि कुटपिट गर्दा उनलाई गम्भीर चोट लागेकाले आफूहरू प्रदर्शनमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए ।
बुटवल बसपार्कबाट शुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिक चोक हुँदै नगरपालिकामा पुगेको थियो । संघका अध्यक्ष विष्णु पाण्डेले आफूहरूलाई वैकल्पिक व्यवस्था नगर्दासम्म संघर्ष जारी रहने बताए ।
नेपालीले आफूहरू स्थानीय सरकारले उचित स्थानमा व्यापार व्यवसाय गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे । ‘हामीले फुटपाथ ओगटेर बसेका छैनौं । फुटपाथ बाहिर हाम्रो ठेला, रिक्सा हुन्छ । हामीले पनि परिवार पाल्नुपर्यो । गरिखाने बाटो खोस्ने कस्तो सरकार आएको हो ?’ उनले भने ।
बुटवलमा झण्डै १ हजार स्वरोजगार मजदुर छन् । बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क साइडमा ठेला रिक्सामा सामान बिक्री गर्न दिएको छैन । आन्तरिक राजस्व कार्यालयको साइनतर्फको फूटपाथ छाडेर बिक्री गर्न छुट दिएको छ ।