
जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् ।
केही समय पहिले करीब–करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन् । आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन् ।
उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ । आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ । पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोलेकाे आरन व्यवसायले मनग्य आम्दानी गरेका छन् । आफ्नो पेशाप्रति उनी निकै सन्तुष्ट छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नकर्मी पेशाबाट आफ्ना पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खानपिन र व्यक्तित्व विकासमा ढाल्न उनी प्रयत्नशील भएको बताउँछन्। पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उहाँले आफनो व्यवसाय राम्रै चलाएका छन् ।
विगत १० वर्षदेखि डोटीको दिपायलस्थित राजपुर बजारभन्दा केही पर, रोड नजिकैको सरकारी जग्गामा एउटा सानो घर बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका ओड आफ्नो कामप्रति गर्व गर्नुहुन्छ । बच्चादेखि नै फलामको काम सिकेर हाल ५९ वर्षको उमेरसम्म पनि लोप हुँदै गइरहेको पुख्र्यौली पेशालाई शिरोधार्य गर्दै आउनुभएका ओड स्थानीय सरकार तथा सरोकारवाला निकायसँग गुनासो गर्छन् , “हाम्रो नगरपालिका तथा सरोकारवाला निकायले हामी र हाम्रो पेशालाई समेत हेप्दै र चेप्दै गएका छन् । हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ, जोगाउनुपर्यो ।”
दिपायलस्थित पिपल्ला राजपुर बजारमा मात्रै होइन, यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँबाट समेत कृषिका लागि प्रयोग हुने फलामे साधन बनाउनका लागि स्थानीयवासी उहाँको घरमा पुग्ने गरेको ओड बताउँछन्। विगत १० वर्षदेखि नै सरकारी जमीनमा घर बनाएर फलाम पिट्ने काम गरिरहेको र आजसम्म काममा कुनै किसिमको नकारात्मक प्रभाव नपरेकाले ग्राहक विश्वास गरेर आउने गरेको र खुशी भएर दुई÷चार पैसा ज्यालाभन्दा बढी नै दिएर जाने गरेको उनले बताए। उनले भने, 'मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन्, तर स्थानीय सरकारले अहिलेसम्म सहयोग गर्न सकेन र मैले गरेको परिश्रम देखेन ।'
ओडको आँखामा आफ्नो पेशाप्रतिको इमान्दारी र कतव्र्य स्पष्ट देखिन्छ । उनी बिहानै ७ बजे आफ्नो निरन्तरको काममा निस्किनुहुन्छ । दिनभरि काम गर्नुहुन्छ । कहिले कमाइ राम्रै हुन्छ, दिनको रु ९०० देखि एक हजारसम्म हुने गरेको उहाँको भनाइ छ । उहाँको आरनमा औजार बनाउन आउनेहरूको लगभग दैनिक घुइँचो नै हुन्छ । जनशक्तिको अभावमा आफूले खासै चाहेजति काम गर्न नसकिरहेको ओेड बताउँछन्। दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवारको घर खर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उहाँको भनाइ छ । आरन व्यवसायकै कारण उहाँले छोराछोरीलाई नजिकैको बोर्डिङ स्कूलमा पढाउन सफल भएका छन् । भोलिका दिनमा आफ्ना सन्ततिले राम्रो पढेर डाक्टर, इञ्जिनीयर बन्न सकुन् भन्ने उनको चाहना छ ।
त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्ये आम्दानी गरेका छन्। वडा कार्यालयको आर्थिक सहयोगमा उनले आफनो गाउँमा आरन व्यवसाय खोलेका हुन् । उनको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउनेको सधैँ भीड लाग्ने गरेको छ ।
आरन व्यवसायबाट नगद कारोवार हुन थालेपछि उहाँले आफ्ना तीन छोराछोरी सजिलैसँग स्कूल पढाइ राखेका छन् । छोराछोरीसहित पाँच जनाको परिवारलाई उनले आरन व्यवसायबाटै राम्रैसँग पाल्दै आएका छन् । त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत् लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आएका छन् । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उहाँले आरन व्यवसाय शुरू गरेका हुन् । जिल्लामा आरन व्यववसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले आरन व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरूपमा आरन व्यवसाय गर्न इच्छुकहरुलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगरप्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, 'आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्याउने छौँ ।' विमलबहादुर विष्ट,रासस