०८ साउन २०८३, शुक्रबार

धमाधम बन्दै लिफ्टिङ खानेपानी योजना

धमाधम बन्दै लिफ्टिङ खानेपानी योजना

हिउँद लागेसँगै सुक्खाग्रस्त क्षेत्रका रुपमा लिइएको बागलुङ बजारका स्थानीय बासिन्दाले पानीको जोहो गर्न दिनभर खट्नुपथ्र्यो।

वर्षौंदेखि खानेपानी अभावमा काकाकुल खेपिरहेका यस क्षेत्रका स्थानीयवासी अबको दुई वर्षभित्रै घरमै पानी आउने भएपछि दङ्ग देखिएका छन्  बागलुङ नगरपालिकाको सहयोगमा काठेखोला लिफ्टिङ खानेपानी योजना शुरु भएपछि घरघरमा पानी आउने हुँदा उनीहरु उत्साहित भएका हुन्।

बजार छेवैमा रहेको काठेखोलाको पानी तानेर शुद्धीकरण गरी वितरण गरिने सो आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम तीव्रगतिमा अगाडि बढाएको छ। दुई वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको आयोजनाअन्तर्गत काठेखोलामा पाँच वटा ट्याङ्की, पानी छान्ने ट्याङ्की र रातामाटामा पानी जम्मा गर्ने (रिजर्भ) ट्याङ्की निर्माणको काम तीव्रगतिमा भइरहेको आयोजनाले जनाएको छ।

तोकिएकै समयमा सक्ने लक्ष्यका साथ निर्माण कम्पनीले भौतिक संरचना निर्माणको कामलाई तीव्र बनाएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए। आयोजना निर्माणका लागि विसं २०७५ असार ३१ गते निर्माण कम्पनी ‘कन्काई जयमाता जेभी’ सँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार विसं २०७७ असार ३१ गते आयोजना निर्माण कार्यसम्पन्न हुनुपर्नेछ ।
गत असार-साउनमा आएको बाढीले तीन वटा ट्याङ्की र अन्य महत्वपूर्ण निर्माण सामग्री बगाएपछि निर्माण कार्यमा केही ढिलाइ भएको आयोजनाको साइड इञ्जिनीयर केदार पाण्डेले जानकारी दिए।

‘तोकिएको समयभन्दा दुई÷तीन महिना ढिला गरी आयोजना सम्पन्न हुन सक्छ,’ उनले भने, ‘अहिले भौतिक संरचना निर्माणको काम तीव्रगतिका साथ भइरहेको छ । बाढीले बगाएको दुई वटा ट्याङ्की भेटिए पनि एउटा अझै फेला परेको छैन ।’ बढीले महत्वपूर्ण सामग्री बगाउँदा  एक करोड मूल्य बराबरको क्षति भएको इञ्जिनीयर पाण्डेको भनाइ छ।

नेपाल सरकारको ७३ प्रतिशत र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ प्रतिशत आर्थिक योगदानमा निर्माण भइरहेको उक्त आयोजनाको कूल लागत ३० करोड २६ लाख ५९ हजार ९९५ रुपैयाँ रहेको आयोजनाले जनाएको छ।

आयोजना निर्माणका क्रममा अहिले प्रशोधन एकाइ ट्याङ्की, प्रसारण तथा वितरण लाइन संरचना निर्माणको काम तीव्रगतिमा भइरहेको इञ्जिनीयर पाण्डेले बताए। उनका अनुसार भौतिक संरचना निर्माणपश्चात इलेक्ट्रोमेकानिकल वक्र्सको काम शुरु हुने छ।

हालसम्म चार ट्याङ्की, दुई रिजर्भ ट्याङ्की, ७२ मिटरको सोलोस्याण्ड फिल्डर प्रोटेक्सन (पानी शुद्धीकरण एकाइ सुरक्षा) का लागि बाहिरी रिटेनिङवाल र काठेखोलामा ग्याविन वालको काम अन्तिम चरणमा पुगेको छ।

खोलामा पुरिएको एउटा र सोलोस्याण्ड फिल्टर नजिकका दुई वटा गरी तीन वटा सम्पवयल तथा भित्री रिटेनिङवाल निर्माणको काम बाँकी रहेको बताइएको छ । पाइप तथा इलेक्ट्रोनिक्स सामग्री निर्माणस्थलमा आएको हुँदा आगामी असारसम्म पुरानै वितरण प्रणालीमार्फत काठेखोलाको पानी वितरण गर्न सकिने इञ्जिनीयर पाण्डेको भनाइ छ ।  –तारानाथ आचार्य/रासस 

salt training

कमेन्ट गर्नुहोस्