१३ असार २०८३, शनिबार

हिजो दिनभर : प्रचण्डले गरे ओली सरकारको प्रशंसा, चिनी मिल बन्द गर्ने ऊखु किसानको चेतावनी

हिजो दिनभर : प्रचण्डले गरे ओली सरकारको प्रशंसा, चिनी मिल बन्द गर्ने ऊखु किसानको चेतावनी

सभापतिले बहुमतको नाममा गरेको निर्णय पार्टी हितविपरीत : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिबाट शुक्रबार बहुमतका आधारमा गरिएको निर्णय पार्टीको हितविपरीत भएको निष्कर्ष निकाल्दै सच्याउन माग गरेको छ ।

पार्टी महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा शनिबार भएको वरिष्ठ नेता पौडेल पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले नेतृत्वबाट एकलौटीरूपमा गरिएको निर्णयले पार्टीको हित नहुने तर्क गरे।

महासमिति बैठकपछि संशोधन गरिएको पार्टी विधानलाई नजरअन्दाज गर्ने काम नेतृत्व तहबाटै भएको आरोप लगाउँदै उनले भने, ‘एक हजार २०० बढी महासमिति सदस्यहरूको बैठकपछि पार्टीको विधान संशोधन भएको एक वर्षपनि पुगेको छैन, महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नाममा आफूखुशी विधानका दफा निलम्बन गरिएको छ।’ पार्टी विधानका दफा निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखोजिएको नेता पौडेलको भनाइ थियो ।

महामन्त्री डा कोइरालाले पार्टीभित्रको एकतामा जोड दिँदै बहुमतबाट गरिएको निर्णयले पार्टीलाई कमजोर बनाउने बताए।  सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गरे। ‘पार्टी सहमतिमा अघि बढ्नुपर्छ । मैले सधैँ पार्टी एकताको पक्षमा बोल्दै आएको छु,’  उनले भने, ‘नेतृत्वले नै एकताका लागि बढी पहल गर्नुपर्छ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहले आन्तरिक सहमतिका पक्षमा आफूहरू प्रयासरत हुँदाहुँदै पनि पार्टी नेतृत्वबाट बहुमतका आधारमा निर्णय गरिएकोप्रति असतुष्टि व्यक्त गरे। बहुमतबाट गरेको निर्णयमा आपत्ति जनाउँदै नेता सिंहले सो निर्णय स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे।

काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि एक वर्षका लागि थप गर्दै पार्टीको १४औँ केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। काँग्रेसको वर्तमान केन्द्रीय समितिको समयावधि आगामी फागुनमा सकिँदैछ।

सो बैठकले पार्टीको विधानअनुसार हाल विधानमा कायम २८ केन्द्रीय विभागको सङ्ख्यालाई बढाएर ४७ पु-याउने र नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने निर्णयलाई अनुमोदनसमेत गरेको थियो। बैठकमा वरिष्ठ नेता पौडेल पक्षका पदाधिकारी र सदस्य भने अनुपस्थित थिए।

 

चिनी मिल बन्द गर्ने ऊखु किसानको चेतावनी

ऊखुको बक्यौता रकम नपाएको भन्दै  सर्लाहीका किसान शनिबारबाट काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् ।

यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

सङ्घर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् ।

 

काठमाडौंका सडकमा मागेर गुजारा चलाउनेलाई हटाउन महानगरले थाल्यो अभियान

काठमाडौं महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरू गरेको छ ।

कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो । कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो ।

“सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामूलक कार्यक्रम चलाएका हौँ”, अभियानका क्रममा महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले भने ।

ती सार्वजनिकस्थलमा दृष्टिविहीनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्ति माग्न बसेका भेटिए । अभियानका क्रममा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी थिए ।

कामपाले गत मंसिर २९ गतेदेखि बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रुपमा लागि परेको छ । सडकमा नै मागेर आफ्नो जीनव बिताउनेलाई उद्धार कार्य पनि कामपाले शुरु गरेको छ ।

मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ ।

उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

 

प्रचण्डले गरे ओली सरकारको प्रशंसा– 'इमान्दारिताका साथ काम गरिरहेको छ'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारमा एकतारूपता भएमात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने बताएका छन् ।

शनिवार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्र्दा ठूला ठूला परिवर्तन भएका छन् ।’

परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । ‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भने ।

प्रचण्डले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिए । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।

 

पानीजहाजको विरोध गर्ने र गोकर्ण रिसोर्ट प्रकरणमा विरोध गर्ने एकै हुन्– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरूले नै गोकर्ण रिसोर्टलाई विधिवतरूपमा जग्गा भाडामा दिँदा विरोध गरिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले पार्टीनिकट पत्रकार संगठन प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई शनिवार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

विगतका सरकारले हचुवाका भरमा दिएको जग्गालाई आफूहरूले विधिसम्मतरूपमा भाडामा दिएको दाबी प्रधानमन्त्री ओलीले गरे ।

पानीजहाजको कुरा गर्दा त विरोध भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यसप्रकरणमा पनि विरोध हुनुस्वभाविक भएको बताए ।

लिज अवधि सकिनुभन्दा झण्डै ६ वर्षअघि नै सरकारले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नवीकरण गरिदिएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका हरेक कामको विरोध र भ्रमण फैलाइएको गुनासो समेत गरे ।

 

पोखरा प्रिमियर लिगको उपाधि पारस खड्का नेतृत्वको चितवन राइनोजले जित्यो

पोखरा प्रिमियर लिगको उपाधि पारस खड्का नेतृत्वको चितवन राइनोजले जितेको छ ।

पोखरामा शनिवार सम्पन्न फाइनल भिडन्तमा चितवनले विराटनगर टाइगरलाई ३२ रनले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

चितवनले पेश गरेको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो ।

उसका लागि मोहम्मद जैद आलमले ५७, कप्तान प्रदीप ऐरीले ३६ र पुनित मेहराले ३२ रनको योगदान गरे पनि टीमलाई जीतसम्म डोहोर्‍याउन सकेनन् ।

पुनितले १३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै केही आशा जगाएका थिए, तर उनको पनि केही लागेन ।

चितवनका लागि करण केसीले सर्वाधिक ३, सन्नी पटेलले २ तथा रोहन मुस्ताफाले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २०२ रन जोडेको थियो ।

चितवनका लागि रोहन मुस्ताफा र अनिल साहले समान ५०, करण केसीले २६, पारस खड्काले २५, आरिफ शेखले १९ रन र सन्नी पटेलले १६ रनको योगदान गरे ।

 

हेटौंडामा निर्माणाधीन फूटबल मैदान ८० प्रतिशत तयार

मकवानपुरको हेटौँडामा निर्माणाधीन आधुनिक र सुविधासम्पन्न फुटबल मैदानको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

आगामी फागुनसम्ममा सम्पूर्ण निर्माण सम्पन्न गरिने खेलकूद विकास समितिका माधव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा खेल मैदान निर्माण भइरहेको हो ।

सम्याउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधन जडान गरी मिलाउने र खेलाडीलाई पानीको फोहोरा हान्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक फुटबल मैदान निर्माण हुने उनको भनाइ थियो ।

प्रदेश सरकारले मकवानपुरको हेटौँडा र सिन्धुपाल्चोकमा फुटबल मैदान निर्माण गरिरहेको र दुवै मैदान निर्माणको अन्तिम चरणमा रहेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ थियो ।

खेलक्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो । उनले खेल क्षेत्रका पूर्वाधारको विकास गरेर ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र देशको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ ।

हेटौँडाको केन्द्रीय खेलकुद प्रतिष्ठानमा निर्माणधीन गौरीटार रंगशालाको मुख्यमन्त्री पौडेलले निरन्तर अनुगमन र अवलोकन गरी प्रत्यक्ष रुपमा निर्माण कार्यलाई छिटो र स्तरीय तबरले सम्पन्न गर्न निर्देशन दिनुहुने र त्यो निर्देशनका कारण पनि काम द्रूतगतिमा अगाडि बढिरहेको निर्माणमा सङ्लग्न ठेकेदार कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

पर्यटन मन्त्री भट्टराई भन्छन्– भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए ।

पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उहाँले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भई रहेको बताए ।

भ्रमण वर्षको पर्यटन प्रवर्द्धनका लागि सचिवालयले रु ६५ करोडको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व  पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए ।

हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको उनको भनाइ थियो ।

विमानस्थलका लागि थप आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै उन जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे ।

पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रूपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्पmत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्