०६ साउन २०८३, बुधबार

पार्टी निर्णयमा नेकपाकै सांसदको आपत्ति, भन्छन्– 'हात समाएर भोट हालिदिने होइन होला !'

कांग्रेस सांसदको प्रस्ताव : 'अब मुख्यमन्त्रीलाई पनि अञ्चलाधीश भनौं'
पार्टी निर्णयमा नेकपाकै सांसदको आपत्ति, भन्छन्– 'हात समाएर भोट हालिदिने होइन होला !'

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ ।

प्रदेशको राजधानी पनि हेटौंडा नै कायम गर्न पार्टीको प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले गरेको छ ।

'प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय भएको छ,' बैठकमा सहभागी एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'राजधानी अहिले हेटौंडामा छ, त्यहाँ चल्दै गर्छ ।'

प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत छ । प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतले तोक्न सक्छ ।

नेकपाभित्रै नाम र राजधानीका सम्बन्धमा सहमति जुट्न नसक्दा यो विषय पार्टी सचिवालयसम्म पुगेको थियो ।

मुख्यत: नेकपाभित्र प्रदेशको राजधानीका सम्बन्धमा ठूलो विवाद छ । नेकपा र अन्य पार्टीका गरी करीब दुईतिहाइ सांसद काठमाडौं उपत्यका आसपासमा राजधानी राख्नुपर्ने पक्षमा छन् ।

त्यसो त प्रदेश सभामा ५२ जना सांसदले काठमाडौं उपत्यकाबाटै प्रतिनिधित्व गर्छन् । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका सांसदहरूको मत जोड्दा दुईतिहाइभन्दा माथि पुग्छ । यस्तो अवस्थामा पनि प्रदेश राजधानी हेटौंडा कायम गर्न पार्टी सचिवालयबाट निर्देशन आएपछि नेकपाकै सांसदहरू असन्तुष्ट बनेका छन् ।

पढ्नुहोस्, यो पनि :

नेकपा सचिवालयको निर्णय– प्रदेश ३ को नाम बाग्मती

प्रदेश सभामा काभ्रेबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद रत्नप्रसाद ढकालले सचिवालयको गैरसंवैधानिक निर्देशन आफूहरूलाई मान्य नहुने बताए । 'यो विषयमा प्रदेश सभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने भनेर संविधानमै उल्लेख छ,' सांसद ढकालले लोकान्तरसँग भने, 'यस्तो विषयमा निर्देशन दिने निर्णय गरेर उहाँहरूले संविधानअनुसार नै गल्ती गरिसक्नुभयो ।'

ढकालले थपे, 'पार्टी सचिवालयले संविधानभन्दा बाहिर गएर निर्देशन दिन मिल्दैन र यसरी दिएको निर्देशन हामी मान्दा पनि मान्दैनौं ।'

नाम र राजधानी दुवै संसदको प्रक्रियाबाटै टुंगिनुपर्नेमा उनको जोड छ । 'संविधानअनुसार प्रदेश सभामा मतदानको प्रक्रियामा जाने हो, जहाँ दुईतिहाइ पुग्छ त्यही राजधानी कायम हुन्छ,' सांसद ढकालले भने, 'नाम पनि प्रक्रियाबाटै तोकिन्छ ।'

नेकपाकै अर्का सांसद चन्द्रबहादुर लामा पार्टीको निर्णयमा आफ्नो सबैभन्दा ठूलो घोर आपत्ति रहेको बताउँछन् ।

'औपचारिकरूपमा हामीलाई त्यस्तो निर्देशन प्राप्त भइसकेको छैन, यदि यस्तो निर्णय पार्टीले गरेको हो भने गम्भीर गल्ती गर्‍यो,' सांसद लामाले लोकान्तरसँग भने, 'पार्टी अलग हो, प्रदेश अलग हो । प्रदेशमा आफ्नै पार्लियामेन्ट छ, हामी त्यसका सदस्य हौं । संविधानले दिएको अधिकार प्रयोग गरेर हामी आफैं निर्णय लिन सक्छौं, हामीलाई जनताको म्यान्डेट पनि छ ।'

कार्यविधि समेत पास भइसकेर प्रक्रियामा जाने बेलामा पार्टीबाट यस्तो निर्देशन आउनु आपत्तिजनक भएको उनको प्रतिक्रिया छ ।

'कार्यविधि समेत पास भइसकेको र एक ढंगले प्रक्रियामा जानुपर्ने अवस्थामा पार्टीको यस्तो निर्देशन आउनु आपत्तिजनक छ,' सांसद लामाले भने, 'संविधानभन्दा माथि पार्टी छैन, हामी प्रक्रियाबाटै नाम र राजधानी टुंग्याउँछौं ।'

सांसद लामाले थपे– 'काभ्रे राजधानी हुनुपर्छ भनेर प्रस्ताव गर्ने सांसद म नै हुँ, मैले त यो कुरा कुनै पनि हालतमा मान्नेवाला छैन, हाम्रो पनि आफ्नै विवेक छ, भोट हाल्ने त हामीले हो, सचिवालय सदस्यहरूले हात समातेर भोट हाल्न लगाउने त होइन होला !'

कांग्रेस सांसद् नरोत्तम वैद्य पनि प्रदेश राजधानी र नामाकरणबारे नेकपाले गरेको निर्णय अनुपयुक्त रहेको बताउँछन् । हेटौंडा राजधानी राख्ने निर्णय संघीयताको मर्मअनुसार पनि अनुपयुक्त रहेको र बाग्मती नाम पुरानै ढर्राको भएको उनको प्रतिक्रिया छ ।

'नाम बाग्मती, राजधानी हेटौंडा भनिसकेपछि अब मुख्यमन्त्रीलाई पनि अञ्चलाधीश भनौं,' नेकपाको निर्णयप्रति व्यंग्य गर्दै सांसद वैद्यले भने, 'बाग्मती पुरानै अञ्चलको नाम हो, हेटौंडा पनि पहिले अञ्चलकै राजधानी ।'

प्रदेशको नामाकरण गर्दा हलचल हुने खालको नयाँ नाम राख्नुपर्ने उनको सुझाव छ ।

'इटालीको भ्याटिकन भने जस्तै हो नि हाम्रो पशुपति,' सांसद वैद्यले लोकान्तरसँग भने, 'पशुपति नाम राखेर यसलाई स्पेशल टेरिटोरी बनाउनुपर्छ ।'

पढ्नुहोस्, यो पनि :

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, नाम बाग्मती !

salt training

कमेन्ट गर्नुहोस्