
५ नम्बर प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० बर्दियाबाट शुरू हुने भएको छ ।
पुस १६ गते (जनवरी १ तारिख) का दिन बर्दियाको ठाकुरद्वाराबाट ‘घुम्न जाऔं बर्दिया’ भन्ने नाराका साथ उद्घाटन गर्ने तयारी छ ।
भ्रमण वर्षको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले पनि साथ दिएको छ ।
प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले विशेष समारोहका साथ भ्रमण वर्ष उद्घाटन गर्ने तयारीमा आफूहरू जुटेको बताए ।
‘उद्घाटन समारोहमा प्रदेशका सबै मन्त्री, समितिका सभापति र सबै सांसदहरू सहभागी हुनुहुनेछ । ३ हजार जनाको उपस्थितिमा कार्यक्रम गरिने छ,’ उनले भने, ‘प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । संघीय सरकारको नेपाल भ्रमण वर्षलाई सफल बनाउने पनि दायित्व हो । अभियानमा सबै जुटौं । कमीकमजोरी कहाँ छन् ? सुझाव दिएर अगाडि बढौं ।’
प्रदेश पर्यटकीय सम्भावना भएको प्रदेश हो । यहाँ विश्व शान्तिको मुहान लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, विभिन्न धार्मिक क्षेत्र, हिमालहरू रहेका छन् । भ्रमण वर्षका लागि संघीय सरकारले प्रदेशलाई २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।