२२ असार २०८३, सोमबार

भ्रमण वर्ष ०२० मा भारत, भूटान र बङ्गलादेशका नागरिकलाई निम्तो

पुस १३, २०७६
भ्रमण वर्ष ०२० मा भारत, भूटान र बङ्गलादेशका नागरिकलाई निम्तो

भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गरेका छन्।

भारतीय उद्योग परिसंघले पश्चिम बङ्गालको सिलिगुडीमा शनिबार आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गरे।

पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बङ्गलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए । महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बङ्गलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका थिए।

उनले काँकडभिट्टा र पशुपतिनगर नाकामा नेपालले उच्च सुविधा र प्रविधियुक्त अध्यागमन कार्यालय सञ्चालन गरिसकेको उल्लेख गर्दै सोहीस्तरको अध्यागमन कार्यालय भारतीय नाकामा स्थापना गर्न आग्रह गरे।

पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताए।

कार्यक्रममा प्रदेश नं–१ का पर्यटकीय गन्तव्यको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने पश्चिम बङ्गालका पर्यटनमन्त्री देवलगायतका भूटान र बङ्गलादेशका प्रतिनिधिलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पिन र पर्चा वितरण गरिएको थियो ।

कोलकातास्थित बङ्गलादेशी महावाणिज्यदूत मोहम्मद शमसुल अरिफ, पश्चिम बङ्गाल राज्य सरकारकी पर्यटन सचिव श्रीमती शान्ता प्रधान, कोलकातास्थित नेपाली सह–महावाणिज्यदूत तर्कराज भट्ट, पर्यटन अभियन्ता राज वसुलगायतले एशियाली राजमार्गको निर्माणले नेपाल, भारत, भूटान र बङ्गलादेशले आपसी व्यापार र पर्यटनमा लाभ उठाउने धारणा व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्