सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन्। कञ्चनपुरको भीमदत्तनगरमा मंगलवार बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे।
“सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए।
सरकारले सम्भावनाहरूको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डोर्याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे। “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”
उहाँले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरूआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए।
त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५/४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताए।
त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए। विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उहाँले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए।