
समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने उद्घोष गरेका छन् ।
युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई मंगलवार जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरू आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरूलाई सधैं सहयोग गरिरहने बताए ।
‘आफ्नो पार्टीले अब सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रमहरू अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म संघर्षका कार्यक्रम निरन्तर चलिरहन्छ,’ उनले भने ।
अध्यक्ष यादवले वर्तमान सरकार आफूहरूलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरूले सरकार छाडेको स्पष्ट पारे ।
उनले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रह समेत गरे ।