
प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका–७ स्थित चण्डिकालाल प्राथामिक विद्यालयको शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सांसद श्रेष्ठले विद्यालयको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्राथामिक तहका एक शिक्षकलाई एक वर्षको तलब दिने घोषणा गरेका हुन्।
शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्नसक्ने अवस्था नभएका कारण सांसद श्रेष्ठले एकजना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तबरबाट उपलब्ध गराउने घोषणा गरे।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाका लागि रकम उपलब्ध गराउन लागेको बताए।
सांसद श्रेष्ठले हालसम्म सांसदका रुपमा आफूलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न सङ्घ संस्थालाई उपलब्ध गराउँदै आएका थिए।