०२ असार २०८३, मंगलबार

६ विश्वविद्यालय उपकुलपतिविहीन भागबन्डा नटुंगिँदा रोकियो सिफारिस

पुस १७, २०७६
६ विश्वविद्यालय उपकुलपतिविहीन भागबन्डा नटुंगिँदा रोकियो सिफारिस

चार विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न गठन भएको शिक्षामन्त्री नेतृत्वको सर्च कमिटी नै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीबाट नाम पर्खेर बसेको छ । सर्च कमिटी गठन गरेको महिनौँ बिते पनि प्रधानमन्त्री कार्यालयबाटै नाम नआउँदा सिफारिस हुन सकेको छैन । हाल ६ विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । 

विश्वविद्यालय ऐनअनुसार उपकुलपति छनोट गर्न गत भदौमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको सर्च कमिटीलाई सकस भएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा कुलपति तथा प्रधानमन्त्री ओलीले कृषि तथा वनविज्ञान, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयको उपकुलपति छनोट गर्न सर्च कमिटी गठन गरेका थिए । कमिटीमा सम्बन्धित विश्वविद्यालयका सभासदस्यसमेत रहने व्यवस्था छ ।

गत भदौ पहिलो साता यी विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको थियो । राजनीतिक भागबन्डाले विश्वविद्यालयमा बेतिथि भएको भन्दै सक्षम व्यक्तिलाई उपकुलपति नियुक्त गर्नुपर्ने सुझाव सरोरकावालाले दिइरहेका छन् । सँगै रिक्त भएको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भए पनि अन्य विश्वविद्यालयमा सिफारिससमेत भएको छैन । त्रिविमा प्रा.डा. धर्मकान्त बाँस्कोटा उपकुलपति नियुक्त भइसकेका छन् । नयाँ उपकुलपति नियुक्त नभएपछि दैनिक काम चलाउन जिम्मेवारी तोकिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । 

 उपकुलपतिका लागि  रोस्टर तयार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको उपकुलपति तथा केही विश्वविद्यालयका सेवा आयोग अध्यक्षका लागि व्यक्तिगत विवरण मागेर रोस्टर तयार गरेको छ । गत असोजमा सार्वजनिक सूचना गरी विश्वविद्यालयका उपकुलपतिका लागि योग्यता पुगेका व्यक्तिहरूबाट व्यक्तिगत विवरण माग गरेको हो । स्रोतका अनुसार करिब तीन सयजनाले उपकुलपतिका लागि व्यक्तिगत विवरण पेस गरेका छन् । उपकुलपतिका लागि योग्यता पुगेका करिब डेढ सयजना प्राध्यापक, डाक्टरको नाम मन्त्रालयले सूचीकृत गरेको छ । 

 उपकुलपतिविहीन विश्वविद्यालय
अहिले अधिकांश विश्वविद्यालय उपकुलपतिविहीन छन् । ७ भदौ ०७२ मा नियुक्ति पाएका विश्वविद्यालयका उपकुलपतिको कार्यकाल गत भदौ पहिलो साता सकिएको थियो । समय सकिएपछि कुलपति तथा प्रधानमन्त्री ओलीले बढीमा तीन महिनाका लागि दैनिक काम सञ्चालन गर्न उपकुलपतिको जिम्मेवारी तोकेको समय पनि सकिएको छ । 

समयमै उपकुलपति नियुक्त नहुँदा दैनिक प्रशासन मात्र सञ्चालन भएका छन् । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठन भएको सर्च कमिटीले नाम सिफारिस गर्न नसक्दा अधिकांश विश्वविद्यालय कामचलाउ भएका छन् । विश्वविद्यालयबाट नीति योजना बनाउने काम गर्ने भन्दा पनि दैनिक प्रशासन चलाउने मात्र काम भएको छ ।

कार्यकाल सकिनेबित्तिकै कुलपतिले नेपाल संस्कृतका रेक्टर रमेश ढकाल, पूर्वाञ्चलविश्वविद्यालयका डिन विजयकुमार थपलिया, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. शारदा थपलियालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा. डा. मस्तबहादुर गरन्जाले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए । केही विश्वविद्यालयमा अर्को व्यवस्था नहुन्जेल निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । केहीमा उपकुलपतिको जिम्मेवारी कसैलाई पनि दिइएको छैन । 

 दुई विश्वविद्यालयमा उपकुलपतिको नाम टुंगो
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. उषा झाको संयोजकत्वमा रहेको सर्च कमिटीले सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि नाम टुंगो लगाएको छ । स्रोतका अनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिका लागि प्रा.डा. रमेश भट्टराई, प्रा.डा. भारती जोशी, प्रा.डा. पूर्णबहादुर चन्दको नाम टुंग्याएको छ । तर, सिफारिस भने गरिसकेको छैन । चन्द निमित्त उपकुलपतिको जिम्मेवारीमा काम गरिरहेका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि प्रा.डा. जनार्दन लामिछाने, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. केशरसिंह रानाको नाम टुंगो लागेको छ । संयोजक डा. झाले उपकुलपतिका लागि केही नाम भेरिफिकेसन गरेर राखे पनि हस्ताक्षर गरेर सिफारिस गरिनसकेको बताइन् । उनीहरूमध्ये एकजनालाई कुलपतिले उपकुलपति नियुक्त गर्नेछन् ।

पूर्वएमाले र पूर्वमाओवादीमा भागबन्डा हुने 
विश्वविद्यालयका उपकुलपतिको आकांक्षी धेरै छन् । विभिन्न माध्यमबाट उनीहरूले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

धेरै प्राध्यापकको दौडधुप भए पनि प्रधानमन्त्रीबाट आउने नाम मात्रै सिफारिस गर्ने सर्च कमिटीका एक सदस्यले बताए । ‘रिक्त भएका उपकुलपति पदमा पूर्वएमाले र पूर्वमाओवादीलाई भागबन्डा हुन्छ, त्यसका लागि नेकपाका दुई अध्यक्षको छलफल नभएका कारण नाम आएको छैन,’ ती सदस्यले भने, ‘सभामुखको टुंगो लागेपछि उपकुलपतिको विषयमा छलफल हुने बुझेका छौँ, कांग्रेसको भागमा पर्ने वा नपर्ने पनि अहिले टुंगो छैन ।’ 

छनोटको विधि नतोकिएकाले माथिबाट आउने नाम नै सर्च कमिटीले सिफारिस गर्ने उनले बताए । सर्च कमिटीलाई सिफारिसका लागि समयसमेत तोकिएको छैन । सर्च कमिटीले सिफारिस गरेका मध्ये एकजनालाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीबाट उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्