०२ असार २०८३, मंगलबार

हिजो दिनभर : नेपाल भ्रमण वर्षको देशभर शुभारम्भ, ओली-मोदीबीच टेलिफोन वार्ता

हिजो दिनभर : नेपाल भ्रमण वर्षको देशभर शुभारम्भ, ओली-मोदीबीच टेलिफोन वार्ता

नेपाल भ्रमण वर्ष महाअभियानकै रूपमा अघि बढ्ने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आजबाट शुरू भएको भ्रमण वर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याइन् ।

'नेपालको पर्यटन विकासको सन्दर्भमा आजबाट शुरू भएको अभियान सबैको सहयोग र सहभागितामा महाअभियानको रूपमा अघि बढ्ने विश्वास लिएको छु,' राष्ट्रपति भण्डारीले भनिन्, 'सबै नेपाली एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ ।'

आजभोलि पर्यटकहरूले आरामदायी गन्तव्यभन्दा पनि नयाँ–नयाँ अनुभव संगाल्न पाउने गन्तव्यहरू रुचाउने गरेको भन्दै राष्ट्रपति भण्डारीले त्यसका लागि नेपाल उपयुक्त रहेको बताइन् ।

'सबैखालका पर्यटकलाई आकर्षित गर्न सक्षम छौं,' राष्ट्रपति भण्डारीले भनिन्, 'संसारकै उत्कृष्ट गन्तव्य सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, चितवन र अन्नपूर्ण मात्र होइन हामीकहाँ पर्यटकले रुचाउने अन्य थुप्रै गन्तव्य छन् ।'

नेपालीमा रहेको अथिति देवो भव: भन्ने भावना पर्यटकले सबैभन्दा मन पराउने भन्दै राष्ट्रपति भण्डारीले यसलाई बचाइराख्नुपर्ने बताइन् ।


भ्रमण वर्षमा पर्यटकलाई निम्तो गर्दै मन्त्री भट्टराईले भने– सबै खाले अनुभव संगाल्न नेपाल आउनूस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विविधतायुक्त संस्कृति र प्रकृतिका अनुपम सम्पदाहरूको अनुभव संगाल्न नेपाल आउन पर्यटकहरूलाई निम्तो गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई बुधवार दशरथ रंगशालामा सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संसारकै उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

'जैविक विविधताका हिसाबले संसारकै उत्कृष्ट मुलुक हो, संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो,' मन्त्री भट्टराईले भने ।

सरकारले भ्रमण वर्ष २०२० लाई प्रस्थानबिन्दु मानेको र यसले नेपाली पर्यटनमा नयाँ बाटो र उज्यालोतर्फको मार्ग प्रसस्त गर्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

साथै उनले नेपाल लगानीका लागि पनि भर्जिन ल्याण्ड भएको बताए ।

नेपाल स्थायी शान्ति र स्थिरतासहित समृद्धिको बाटोमा अघि बढेको दाबी गर्दै मन्त्री भट्टराईले नेपाल आएर लगानी गर्न पनि आग्रह गरे ।

सर्वाेच्चको आदेश : 'नेपालको नक्सा खुल्ने अन्तर्राष्ट्रिय दस्तावेज १५ दिनभित्र सक्कलै पेश गर्नू'

नेपालको नक्सा यकिन हुने ऐतिहासिक अन्तर्राष्ट्रिय दस्तावेज १५ दिनभित्र सक्कलै अदालतमा पेश गर्न सर्वाेच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

अधिवक्ता विश्वप्रकाश भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर भारतले गरेको सीमा अतिक्रमणको सन्दर्भमा दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले दस्तावेज पेश गर्न सरकारका नाममा आदेश दिएको हो ।

अधिवक्ता भण्डारीले रिटमा भारतको नक्सामा नेपालको दार्चुलास्थित काली नदीको मुहान लिम्पियाधुरा आफ्नो नक्सामा पारेको कार्य बदर गर्नुपर्ने, नेपालको संविधानको धारा ४(२)(क) मा उल्लेखित क्षेत्रफल यकिन हुनुपर्ने र धारा ९(२) बमोजिमको अनुसूची ३ मा भएको नेपालको नक्सा नेपालको संविधान संशोधनको माध्यमबाट सच्याउनुपर्ने माग गरेका छन् ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले विषयसँग मिल्दो फणिन्द्र नेपालको रिटसँगै राख्न आदेश समेत दिएको छ ।


आदेशमा लेखिएको छ, ‘विपक्षी नापी विभाग वा नेपाल सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा सो नक्सा बनाउँदाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् १८१६ को सुगौली सन्धीको अनुसूची सहितको प्रतिलिपि (तथा पेशीको दिन पेश गरी फिर्ता लैजाने गरी सक्कल प्रति) अदालतमा पेश गर्नू ।’

उखु किसानसँग उद्योगमन्त्रीको प्रतिबद्धता : ‘माघ पहिलो हप्ताभित्र पूरै भुक्तानी मिल्छ’


उखु बिक्री बापतको रकम माग गर्दै आन्दोलनरत किसानलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखुको १००% बक्यौता रकम माघ पहिलो हप्ताभित्र भुक्तानी गरिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा किसान र मन्त्रीबीच भएको छलफलमा पुसको २५ गतेसम्म ८०% बक्यौता र माघ पहिलो हप्तासम्म १०० प्रतिशत भुक्तानी उपलब्ध गराउने गरी मन्त्रालयले पहल गर्ने प्रतिबद्धता मन्त्री भट्टले जनाएका हुन् ।

काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानलाई मन्त्रालयले बुधवार वार्तामा बोलाएको थियो । किसानसँग वार्ता गर्नुअघि केही चिनी मिल सञ्चालक उद्योगी मंगलवार मन्त्री भट्टको सम्पर्कमा आएका थिए । उद्योगीसँगको परामर्शमा मन्त्री भट्टले बुधवार किसानसँग समयावधि नै तोकेर भुक्तानीबारे प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा भएको छलफल अनुसार किसानले प्रतिक्वीन्टल उद्योगबाट ४७१ रुपैयाँ २८ पैसा र सरकारबाट ६५ रुपैयाँ २८ पैसा रकम पाउने छन् । सर्लाही लगायत जिल्लाका उखु किसान विगत ४–५ वर्षदेखि भुक्तानी नपाएपछि आन्दोलन गर्न काठमाडौं आएका छन् ।


उद्योगमन्त्री भट्टकै अगाडि रोए आन्दोलनरत उखु किसान

चिनी मिलबाट उखुको भुक्तानी माग गर्दै काठमाडौैंमा आन्दोलनरत उखु किसान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै अगाडि रोएका छन् ।

काठमाडौंमा रहेका सर्लाही लगायत जिल्लाका उखु किसानलाई वार्ताका लागि मन्त्रालयले बुधवार सिंहदरबार बोलाएको थियो । उद्योग मन्त्रालयमा भइरहेको वार्ताका क्रममा किसानले मन्त्री भट्टकै सामुन्ने आँशु खसालेका छन् ।

मन्त्रीसँगको वार्ताका क्रममा दुःख पोख्दै सर्लाहीको गोडैटा गाउँपालिका सिसौटिया टोलका किसान रामबिलास महतोले २०७० सालदेखि भुक्तानी नपाएको बताउँदै आँशु खसाले । चिनी मिलले भुक्तानी नदिँदा घरपरिवार पाल्न र साहुको ऋण तिर्न नसकिएको गुनासो मन्त्रीसामु राख्दै गर्दा किसान महतोको गला अवरुद्ध भयो । उनी थप बोल्न सकेनन् । आँशु खसाले ।

छलफलका क्रममा उखु किसानले उखुखेती गर्नुपर्ने बेला भुक्तानीका लागि काठमाडौंमा आएर आन्दोलन गर्नुपर्ने अवस्था रहेको दुःखेको पोखे । ‘हामीले उखु काट्ने बेलामा आन्दोलन गर्ने सधै ?’ किसानले प्रश्न गरे । 

उखु मिल र बिचौलियालाई राज्यले नै पालेको गुनासो किसानले मन्त्रीसामु गरेका छन् । ‘बिचौलियालाई राज्यलले पालेको छ । उखु खेती नगर्ने दलालले करोडौंको पूर्जी लिएका छन्, पैसा पाएका छन तर वास्तविक किसानले पूर्जी पाएका छैनन्,’ एक किसानले दुःख पोखे, ‘हामी किसानलाई सधै ठग्ने यी उद्योगी राष्ट्रिय उद्योगी होइनन्, यी दलाल हुन् ।’

आन्दोलनरत उखु किसानलाई उद्योग मन्त्रालयले बोलायो वार्तामा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्दोलनरत उखु किसानलाई फोन गर्दै वार्तामा आउन आग्रह गरेको छ ।

मन्त्रालयबाट बुधवार बिहान फोन आएको बताउँदै उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तत्कालै वार्तामा आउन आग्रह गरिएको बताए ।

आन्दोलनरत सबै किसान भेला भएर दिउँसो साढे १२ बजेतिर वार्ताका लागि मन्त्रालयमा जाने सचिव रायले बताए । सर्लाही लगायत जिल्लाका उखु किसानले वर्षाैदेखि रोकिएको भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत उखु किसानका अनुसार भुक्तानी नदिने उखु मिलले समेत वार्ताको प्रस्ताव गरेको छ । उखुको भुक्तानी नपाउँदासम्म सरकार र उद्योगीसँग वार्ता गर्दै आन्दोलन जारी राख्ने सचिव रायले बताए ।

ओली-मोदीबीच टेलिफोन वार्ता,
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

बुधवार बिहान साढे १० बजे प्रधानमन्त्रीद्वयबीच टेलिफोनमा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

'प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो,' थापाले भने, 'आफ्नो स्वास्थ्यस्थितिप्रति मोदीले राख्नुभएको चासो र शुभेच्छाका लागि धन्यवादसमेत दिनुभयो ।'

salt training

कमेन्ट गर्नुहोस्