
बलिउड अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा राखेको एउटा तस्वीर भाइरल भएको छ ।
दीपिका जब बाल्यकालमा थिइन्, तब उनको स्वभाव चञ्चले थियो । चञ्चले हाउभाउ रहेको कुरा उनले इन्स्टाग्राममा राखेको तस्वीरले देखायो ।
तस्वीरमा उनले नक्कली जुँगा बनाएकी छन् । बाल्यकालमा नक्कली जुँगा बनाएको तस्वीर दीपिकाले सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको हो ।
तस्वीरमा उनले कुर्ता लगाएकी छन् भने सल ओढेकी छन् । तस्वीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘तपाईको विचार र कर्मलाई ईश्वरले सफासुग्धर गरुन्, २०२० तपाईका लागि शुभ रहोस् ।’ नयाँ वर्षको शुभकामना दिने क्रममा दीपिकाले पुरानो तस्वीर सार्वजनिक गरेकी हुन् ।
दीपिकाको जुँगावाला तस्वीरलाई समर्थकले समेत रुचाएका छन् । दीपिका छिट्टै रिलिज हुने तयारीमा रहेको ‘छपाक’ फिल्ममा देखिने छिन् । यो फिल्म सत्य घटनामा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनवरीमा फिल्म रिलिज हुने जनाइएको छ ।
पद्मावत फिल्मपछि दीपिका पर्दामा देखिएकी थिइनन् । सन् २०१९ मा दीपिका अभिनित कुनै पनि चलचित्र रिलिज भएनन् । सन् २०१८ मा पद्मावत फिल्मपछि दीपिकाले बिहेका लागि अभिनयबाट विश्राम लिएकी थिइन् ।