२८ जेठ २०८३, बिहीबार

देउवासँग ओली सरकारको विरोध गर्ने कुनै नैतिकता रहेन - डा. शेखर कोइराला

देउवासँग ओली सरकारको विरोध गर्ने कुनै नैतिकता रहेन - डा. शेखर कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग संसद्को बहुमतले गरेको निर्णयको विरोध गर्ने नैतिकता नभएको टिप्पणी गरेका छन् । 

पुस ११ गते सभापति देउवाले बहुमतका आधारमा विभागका संख्या बढाउने, विधानको क्रियाशील सदस्यतासम्बन्धी धारा निलम्बन गर्ने, तरुण दलको म्याद थप्ने र २०७७ सालको फागुनमा महाधिवेशन गर्ने निर्णय गराएका थिए ।

संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णय मान्य नहुने भन्दै शेखर लगायतका संस्थापन इतर पक्ष चिढिएको छ । संस्थापनइतर पक्षले केन्द्रीय समितिको बहुमतले गरेको निर्णय फिर्ता नभएसम्म पार्टीको कुनै पनि औपचारिक बैठकमा सामेल नहुने घोषणा गरिसकेको छ ।

'सभापतिले संसदले बहुमतका आधारमा गरेको निर्णयलाई गलत भन्ने नैतिकता राख्नुहुन्न,' लोकान्तरसँग कुरा गर्दै डाक्टर कोइरालाले भने, 'पार्टीभित्र बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तर संसदले बहुमतका आधारमा गरेको निर्णय गलत भन्ने, यस्तो पनि हुन्छ ? यदि यस्तो हो भने, पार्टीमा बहुमतले गरेको निर्णय गलत हो भन्ने अधिकार हामीमा छ ।'

डाक्टर कोइरालाले महाधिवेशन कांग्रेसको उत्सवजस्तै भएको बताए । 'महाधिवेशन भनेको उत्सव मनाउने कुरा हो,' उनले भने, 'सभापति देउवा चुक्नुभयो । बहुमतका आधारमा निर्णय गर्नुभयो । अल्पमतको कदर गर्नुभएन । हामीले त्यो उत्सव मनाउन पाएनौं ।'

कोइरालाले देउवा एउटा गुटको मात्र सभापति हुन खोजेको आरोप लगाए । 

'उहाँले आफूलाई सबैको सभापति बनाउनुभएन । उहाँ एउटा गुटको मात्र सभापति रहेको पुष्टि भएको छ,' कोइरालाले थपे ।

पुस ११ गतेको केन्द्रीय समितिको निर्णय खारेज गर्न माग गर्दै कोइरालाले भने, 'महाधिवेशन कार्यतालिका सच्याएर मंसिरमा ल्याउने, केन्द्रीय समितिले क्रियाशील सदस्यताको छानबिन गर्न ५ सदस्यीय समिति बनाउने र अब विधानविपरीत काम गर्दिन भनेर प्रतिबद्धता जनाउने हो भने सहमति हुन सक्छ ।'

कोइरालाले नेपाली कांग्रेसको इतिहासमै पहिलोपल्ट एउटा गुटले मात्र महाधिवेशन गर्ने निर्णय गरेको टिप्पणी गरे ।

पढ्नुहोस् यो पनि - 

कांग्रेसमा बीपीको मेलमिलाप नीतिको भद्दा मजाक: आरोप–प्रत्यारोपमा नेता, 'फूटबल'जस्तो विधान !

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पौडेलपक्षीय नेताहरू नजाने

salt training

कमेन्ट गर्नुहोस्