२४ जेठ २०८३, आइतबार

भारतको नयाँ नक्साले नेपालसँगको सिमानालाई परिवर्तन नगरेको रवीश कुमारको भनाइ (भिडियो)

भारतको नयाँ नक्साले नेपालसँगको सिमानालाई परिवर्तन नगरेको रवीश कुमारको भनाइ (भिडियो)

भारतको नयाँ राजनीतिक नक्साले देशको सार्वभौम क्षेत्रलाई सही रूपमा इंगित गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बिहीवार बताएका छन् ।

नियमित पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले कुमारलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको संवादमा कालापानीको कुरा उठेको विषयमा प्रश्न गर्दा उनको यो भनाइ आएको हो ।

उनले प्रधानमन्त्रीद्वयको टेलिफोन कुराकानीमा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको र नेपाल तथा भारतबीचको सदियौं पुरानो सभ्यतागत सम्बन्धकै अनकूल यस्तो संवाद भएको अनि भारतको छिमेकी पहिलो नीतिअन्तर्गत कुराकानी भएको बताए ।

त्यसपछि भारतको राजनीतिक नक्साका बारेमा कुरा गर्दै उनले नयाँ नक्साले भारतको सार्वभौम भूभागको सही चित्रण गरेको कुरा दोहोर्‍याए ।

उनले भने, ‘नयाँ नक्साले नेपालसँगको हाम्रो सिमानालाई कुनै हालतमा पनि परिवर्तन गरेको छैन । विद्यमान संयन्त्र अन्तर्गत नेपालसँग सीमा निर्धारण अभ्यास अहिले पनि जारी छ । हामी दुई देशबीचका सबै सीमा समस्याहरू आपसी सम्बन्धको मर्मअनुरूप संवादमार्फत हल गर्ने प्रतिबद्धता व्यक्त गर्छौं । दुई प्रधानमन्त्रीबीच के विषयमा वार्ता भएको हो भन्ने कुराको प्रेस रिपोर्टका आधारमा प्रतिक्रिया दिनु अत्यन्तै कठिन हुन्छ । मैले नेपाली पक्षबाट यस विषयमा कुनै पनि आधिकारिक भनाइ पाएको छैन ।’

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेको र त्यसक्रममा कालापानीको विषय पनि उठेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्