
भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक सेवामा बहाल रहँदा ४ करोड ६८ लाख रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको देखिएकाले सोही बराबर बिगो कायम गरी शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।
सार्वजनिक सेवामा बहाल रहँदा ७९ लाख ५४ हजार ७ सय ९५ वैध आम्दानी गरेका ढुंगानाले सो अवधिमा ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको थियो ।
आम्दानी र खर्चबीच तुलना गर्दा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत खुलेको थिएन ।
अख्तियारले दायर गरेको मुद्दामा निज ढुंगानाकी श्रीमती मधु कोइराला ढुंगानालाई समेत प्रतिवादी बनाइएको छ ।
हेर्नुहोस्, अख्तियारको विज्ञप्ति :
अर्थ मन्त्रालयका उप-सचिव राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने समेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९।०४।१९ देखि २०७५।०३।३२ सम्म आर्जन गरेको वैध आय रु.७९,५४,७९५।०८ को तुलनामा निजले सोही अवधिमा गरेको खर्च तथा लगानी रु.५,४८,०३,३५१।५३ अस्वाभाविक देखिएको र निजले गरेको खर्च तथा लगानी मध्ये रु.४,६८,४८,५५६।४५ को स्रोत खुल्न नआएको हुँदा निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको एवं निज राजेन्द्र ढुङ्गानाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुँदा निजलाई बिगो रु.४,६८,४८,५५६।४५ (चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु.४,६८,४८,५५६।४५ (चार करोड अठसठ्ठी लाख अठचालीस हजार पाँच सय छपन्न रुपैयाँ पैतालीस पैसा मात्र) जफत गरी पाउन मागदाबी लिइएको छ ।
साथै, निज राजेन्द्र ढुङ्गानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएकोले मधु कोइराला (ढुङ्गाना) को नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम श्रीमती मधु कोइराला (ढुङ्गाना) समेतलाई प्रतिवादी बनाई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला