२४ असार २०८३, बुधबार

देशका ३ वटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा पुग्दै छन् महिला

पुस १९, २०७६
देशका ३ वटै फौजी निकायको नेतृत्वमा दाबी गर्ने हैसियतमा पुग्दै छन् महिला

नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् । तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिनअघि मात्रै डिआइजी डा. आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् । 

नेपाल प्रहरी मात्र होइन, सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै छ । सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गरिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ । सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ । सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो । तर, ०४६ पछि मात्र संख्या बढ्यो । ०६१ भन्दा अगाडि प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । ०६१ मा पहिलोपटक सहायक सेनानीमा महिला भर्ना भए । हाल सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ । त्यस्तै प्राविधिकतर्फ दुई सय १४ जना छन् । पाँच हजार ६२ महिला सेनामा छन् । महिलाको संख्या निरन्तर बढिरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

प्राविधिकतर्फ हाल सहायक रथीमा तीन, महासेनानीमा १३ र प्रमुख सेनानीमा २७ महिला कार्यरत छन् । सामान्य सेवातर्फ महिलाहरू सेनानीसम्म पुगेका छन् । हाल ७४ महिला प्रशासनतर्फ र ५३ महिला प्राविधिकतर्फ सेनानी पदमा छन् । सहसेनानीमा एक सय ४२, उपसेनानीमा ७३ र सहायक सेनानीमा एक महिला छन् । महिलालाई प्राथमिकता दिन छुट्टै गुल्मसमेत बनाइएको छ । उपत्यका पृतनाअन्तर्गत गोरखकाली गुल्ममा महिलाकै नेतृत्व हुने गरेको छ । 

त्यस्तै, नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ सालदेखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् । ०५१ मा चार महिला मीरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गासिंह चन्द एकैपटक इन्स्पेक्टरमा भर्ना भए । चौधरी र बज्राचार्य गत वर्ष एसएसपीमा बढुवा भए भने राना र चन्द बढुवा हुने तयारीमा छन् । यसअघि विमला थापा र पार्वती थापा नेपाल प्रहरीमा प्रशासनतर्फ डिआइजीसम्म पुग्न सफल भएका थिए ।

यद्यपि, प्राविधिक तर्पm भने महिलाहरू एआइजीसम्म पुगिसकेका छन् । भर्नामा समावेशी कोटाका कारण नेपाल प्रहरीमा महिलाको संख्या बढ्दो छ । हाल एक डिआइजीसहित चार एसएसपी, ११ एसपी, २२ डिएसपी र एक सय १५ इन्स्पेक्टर महिला छन् । त्यस्तै, दुई सय ८१ सइ, चार सय ६१ असइ, सात सय ९७ हवल्दार, चार हजार चार सय ४४ महिला सिपाही छन् । 

महिलाको संख्या बढ्दै जाँदा प्रहरीको सेवासमेत प्रभावकारी हुँदै गएको प्रहरी प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले बताए । ‘महिला तथा बालबालिका सेवा केन्द्रहरूमा हामीले महिला कर्मचारीलाई नै इन्चार्ज बनाउँछौँ,’ उनले भने, ‘महिला हिंसाका घटना बढिरहेका छन्, यस्ता घटनाको अनुसन्धानमा महिला नै प्रभावकारी हुन्छन्, त्यसकारण संगठनले भर्नादेखि जिम्मेवारी दिनेक्रममा समेत उनीहरूलाई प्राथमिकतामा राखेको छ । उनीहरू फिल्डमा खरो रूपमा उत्रिएका छन् ।’ तालिमदेखि फिल्डसम्म पुरुषभन्दा महिलामा कुनै कमी नभएको डिआइजी थापाको अनुभव छ । महिलाहरूलाई काम गर्न थप सहज बनाउन प्रहरीले लैंगिक नीतिसमेत बनाएर कार्यान्वयन गरेको छ ।

 देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि क्रमशः महिलाको संख्या बढ्दै छ । इन्स्पेक्टरको चौथो ब्याच (२०६०)बाट सशस्त्र प्रहरीमा महिलाहरू भर्ना हुन थालेका छन् । चौथो ब्याचमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छन् । त्यस्तै पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया पनि गत वर्ष डिएसपी भएका छन् । प्रशासनतर्फ सशस्त्र प्रहरीमा १६ जना इन्स्पेक्टर छन् । प्राविधिकतर्फ भने पाँच एसपी, नौ डिएसपी र २९ इन्स्पेक्टर छन् । उनीहरू सबै स्वास्थ्य सेवातर्फका हुन् । समग्रमा सशस्त्रमा दुई हजार नौ सय ३३ महिला छन् जसमा २१ सय ४२ जवान छन् । सशस्त्रमा महिला जनशक्ति कुल फौज संख्याको १२ प्रतिशत हो । यो संगठनमा महिला नेतृत्व तहमा पुग्न अझै केही वर्ष लाग्ने देखिन्छ । 

सशस्त्र प्रहरीकी डिएसपी रजनी थापा भन्छिन्, ‘हाम्रो समाजमा महिलाले दोहोरो भूमिका निभाउनुपर्ने बाध्यता छ, त्यसकारण फौजको जागिर अझै चुनौतीपूर्ण छ ।’ चुनौतीका बाबजुद आरक्षणका कारण सुरक्षा संगठनहरूमा महिलाको संख्या बढ्दै जानु खुसीको कुरा भएको उनी बताउँछिन् । संगठनमा महिलालाई प्रोत्साहन गर्नुपर्छ भन्ने वातावरण रहेको र त्यसले आफूहरूलाई सहज बनाउने उनको भनाइ छ । पहिलो महिला प्रहरी भन्छिन्– प्रहरीमा महिलालाई धेरै दुःख छ । ०१२ मा ऐन जारी भएसँगै नेपाल प्रहरीको औपचारिक इतिहास सुरु भएको थियो । प्रहरीमा महिना भर्ना भने त्यसको चार वर्षपहिले नै सुरु भइसकेको थियो । 

देशमा प्रजातन्त्र आएको एक वर्षपछि नेपाल प्रहरीमा महिलाका लागि भर्ना आह्वान गरिएको थियो, तर कोही पनि भर्ना हुन चाहेनन् । त्यसपछि पुरुष प्रहरीको तुलनामा उच्च तलब दिएर भर्ना हुन प्रोत्साहन गरियो । त्यसका लागि कांग्रेसका नेतालगायत केही उच्चपदस्थ व्यक्तिले नै केही महिलालाई कर गरेर प्रहरीमा भर्ना गराएका थिए । ००८ मा त्यसरी भर्ना भएका २५ महिला जवानमध्ये एक हुन् चैतमाया डंगोल । ‘त्यतिवेला प्रहरीको तलब तीन मोहोर थियो, हामीलाई ३० रुपैयाँ दिइएको थियो,’ ६८ वर्षअघि प्रहरी प्रवेशको स्मरण गर्दै उनले भनिन्, ‘महिलाहरू भर्ना हुन नमानेपछि धेरै तलब दिइएको थियो ।’ चार महिनाको तालिमपछि सुरुका वर्ष हनुमानढोकास्थित प्रहरी कार्यालयमा काम गरेकी उनलाई पछि उपत्यकाबाहिर पनि खटाइएको थियो । 

३१ वर्षे प्रहरी सेवामा उनका धेरै रमाइला–नरमाइला अनुभव छन् । त्यतिवेला कांग्रेस नेताहरूले नै कर गरेर आफू प्रहरीमा गएको र पछि कांग्रेस नेताहरूलाई नै पक्राउ गर्नुपरेको उनी सम्झन्छिन् । महिलालाई प्रहरीमा धेरै दुःख रहेको अनुभव पनि सुनाइन् । काम गर्नेलाई अझै धेरै काममा लगाउने गरिएको उनको भनाइ छ । यसैकारण आफूले ०३९ मा राजीनामा दिएको बताइन् । ‘प्रहरीमा आफ्नोलाई एउटा व्यवहार, टाढाकोलाई अर्काे व्यवहार हुन्छ,’ उनी भन्छिन्, ‘यो साह्रै नराम्रो लाग्छ ।’ 

सेनाकी सुलोचना जसले रचिन् इतिहास 
दुई सय ५० वर्ष लामो इतिहास बोकेको नेपाली सेनामा कम्ब्याट (साधारण सेवा)तर्फ महिलालाई भर्ना लिन थालिएको १५ वर्ष मात्र भएको छ । अधिकृत तहमा भर्ना भएका महिलाले पुरुषबराबर नै पर्फर्मेन्स दिएका छन् । मेजर सुलोचना पौडेल एक उदाहरण हुन् । सुलोचनाले गत वर्ष सेनाको निकै कठिन मानिने स्टाफ एन्ड कमान्ड कोर्स गर्न सफल भएकी हुन् । उनी स्टाफ कलेज पास गर्ने सेनाको पहिलो महिलासमेत बनेकी छिन् । ‘यो संगठनका लागि गर्वको विषय हो,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘यस वर्ष पनि करिब १५ महिला मेजरसा’बहरूले स्टाफ कलेजका लागि परीक्षा दिएका छन् ।’ 

स्टाफ कलेजसँगै सेनाको उच्च तहमा पुग्ने बाटो सुलोचनालाई खुलेको छ । भक्तपुरकी उनी सैनिक पेसासँग सानैदेखि आकर्षित थिइन् । त्यही आकर्षणले उनलाई सेनामा भर्ना मात्र गराएन, नेपाली सेनामा इतिहास रच्ने अवसरसमेत दियो । ‘सैनिक सेवा सजिलो त पक्कै छैन,’ उनी भन्छन्, ‘यसमा कठिनाइ छन्, तर तपाईंले कसरी लिनुहुन्छ भन्ने कुरामा भर पर्छ, कठिनाइलाई मैले सकारात्मक रूपमा लिएँ ।’ सैनिक पेसामार्फत देशका लागि सेवा गर्न पाउनु गर्वको विषय भएकाले त्यसले कठिनाइलाई जित्ने उनको भनाइ छ । सैनिक सेवा गर्छु भन्ने महिलाका लागि सेनाभित्र एकदमै राम्रो वातावरण रहेको उनी बताउँछिन् । 

नेपाल प्रहरीकी पहिलो महिला इन्स्पेक्टर पूजाको संघर्ष
मधेसको राजपुत परिवारमा जन्मिएकी पूजा सिंहलाई तराईबाट पढ्नका लागि काठमाडौं आउनै धेरै संघर्ष गर्नुप-यो । प्रहरीमा भर्ना हुन त कुनै हालतमा तयार थिएनन् आफन्त । उनले समाजको त्यो अवरोध मात्र तोडिनन्, नेपाल प्रहरीमा सीधै इन्स्पेक्टर बन्ने पहिलो महिलाका रूपमा इतिहाससमेत बनाइन् । ०४९ मा त्रिविमा पढ्ने क्रममा प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि उनले परिवारलाई समेत जानकारी नदिई आवेदन दिएकी थिइन् । त्यतिवेला महिलाका लागि आरक्षणको व्यवस्था थिएन । खुला प्रतिस्पर्धाबाट उत्तीर्ण हुनेमा उनी एक्लो महिला थिइन् । 

नाम निस्किएपछि पनि जागिर नखान उनलाई दबाब दिइएको थियो । ‘मेरो एकजना दाइ आइपिएसमा हुनुहुन्थ्यो, त्यसकारण सानैदेखि मलाई प्रहरीप्रति आकर्षण थियो,’ पूजा भन्छिन्, ‘त्यही आकर्षणले अनेक व्यवधान तोडेर प्रहरीमै भर्ना भएँ, अहिले बनाएको पहिचानमा खुसी छु, मेरो रोजाइलाई अहिले सबैले सही भनेका छन् ।’ पुरुषको तुलनामा महिलालाई धेरै गाह्रो रहेको उनको अनुभव छ । ‘महिलाले जागिरका साथै श्रीमती, बुहारी, आमा र समाजको भूमिकासमेत निभाएर अघि बढ्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘चुनौतीसँग रमाउनेका लागि यो पेसा ठीक छ ।’ प्रहरीजस्तो ‘डाइभर्सिटी’ अरू कुनै पेसामा नभएको र यसमा आफू रमाएको उनी बताउँछिन् । उनका श्रीमान् पनि प्रहरीमै छन् । त्यसले पनि केही सहजता मिलेको बताउँछिन् । संयुक्त राष्ट्रसंघमा नेपालबाट एफपियू कमान्डर हुने पहिलो महिला अधिकृत पनि पूजा नै बनिन् । सुडानको डार्फरमा खटिएको राष्ट्रसंघीय मिसनअन्तर्गत पहिलो महिला एफपियू कमान्डरको रेकर्ड उनकै नाममा छ ।

नेपाल प्रहरीमा ६,६३४ महिला
नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् । प्राविधिकतर्फ भने महिलाहरू एआइजीसम्म पुगिसकेका छन् । 

पहिलो महिला प्रहरी चैतमाया डंगोलको अनुभव

पुरुष मात्रै रहेको प्रहरी फौजमा ००८ देखि महिला भर्ना पनि थालियो । त्यतिवेला भर्ना भएका २५ महिला जवानमध्ये एक हुन् चैतमाया डंगोल । त्यतिखेर महिलालाई सेवामा आकर्षित गर्न सरकारले पुरुष जवानको भन्दा महिलाको तलब बढाएर भर्नाको स्किम ल्याएको थियो । डंगोल भन्छिन्, ‘पुरुष जवानलाई तीन मोहोर तलब थियो, हामीलाई ३० रुपैयाँ दिइयो ।’ 

सेनामा ५०६२ महिला
सेनामा पहिले प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । ०६१ मा पहिलोपटक सहायक सेनानीमा महिला भर्ना लिन थालियो । प्राविधिकतर्पm अहिले पनि महिला सहायक रथी छन्, तर सामान्य सेवातर्फ पहिलोपटक मेजर सुलोचना पौडेलले स्टाफ कोर्स पूरा गरेकी छिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ कोर्स अनिवार्य छ । अहिले सेनामा ५,०६२ महिला कार्यरत छन् ।
सशस्त्रमा २,९३३ महिला
०५८ मा गठन भएको सशस्त्र प्रहरीमा सुरुदेखि नै महिला सहभागिता थियो । इन्स्पेक्टरमा भर्ना भने ०६० देखि थालियो । पहिलो लटमै इन्स्पेक्टरमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छिन् । त्यस्तै पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया पनि गत वर्ष डिएसपीमा बढुवा भएका छन् । तीनैजना सशस्त्रको नेतृत्वसम्म पुग्ने सम्भावना भएका अधिकृत हुन् । 
 शान्ति सेनामा महिलालाई प्राथमिकता  
तीनैवटा सुरक्षा निकायले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिलालाई प्राथमिकता दिन थालेका छन् । राष्ट्रसंघको निर्देशनपछि महिलालाई प्राथमिकता दिन थालिएको हो । राष्ट्रसंघले सन् २०२० भित्र शान्ति सेनामा खटिनेमध्ये न्यूनतम २० प्रतिशत महिला पठाउन निर्देशन दिएको छ । सोहीअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवसर पाउने गरेका छन् । नेपाली सेनाले स्टाफ कलेज नगरेका अधिकृतलाई पर्यवेक्षकका रुपमा नपठाउने गरेको थियो । तर, महिलाको हकमा भने यस्तो तालिम नगरेकालाई समेत पठाउने गरिएको छ । नेपाल प्रहरीले शान्ति सेनामा पठाउँदा २० प्रतिशत महिला पठाउने निर्णय नै गरिसकेको छ । त्यहीअनुसार महिलालाई मात्र पठाइएको छ ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्