
नेपाली सेनाले ट्रयाक खुला गरेर हस्तान्तरण गरिसकेको जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान १ लाख रुपैयाँ रकम खर्च हुँदै आएको छ ।
कूल ११७ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डका बीच–बीचमा ‘मोटरेवल’ पुल नहुँदा सवारी साधन लैजाँदा १ लाख रकम तिर्न बाध्य हुनुपरेको हो ।
भेरी नदीको तीरैतीर रहेको सडकखण्डको बीचमा वारपार गर्दा तुइन प्रयोग गर्नुपर्ने भएकाले १ लाख खर्च हुँदै आएको छ । पुल निर्माणका लागि लागत अनुमान र सडक स्तरोन्नतिका लागि वातावरण प्रभाव मूल्यांकनको काम पूरा नहुँदा यस सडकमा बर्सेनि सास्ती हुँदै आएको हो । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका तल्लुबगरसम्म हिउँदयाममा बस सञ्चालन हुने गर्दछन् ।
वर्षायाममा खोला र भेरी नदीमा पुल नहुँदा किस्ता–किस्तामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता छ । भेरी नदीका ३ ठाउँ (जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार) खर्च गरेर एकतर्फी यातायातका साधन तुइनमा तारिँदै आएको छ । सबै यातायातका साधन भेरी नदीमा वारपार गर्दा यत्तिकै रकम बुझाएर यातायात सञ्चालन गर्दै आएका छन् ।
डोल्पाका स्थानीय तहले मोटरसाइकल खरीद गरेर जिल्लामा पुर्याएका छन् । अहिले यातायातका साधन लैजाने तयारी थालेका छन् । डोल्पामा पहिलोपटक भौतिक पूर्वाधार विकास कार्यालयले तुर्वन तारेको मात्र १ लाख ५० हजार रुपैयाँ खर्च गरेर जिप दुनै पुर्याएको बताएको कार्यालय प्रमुख योगेन्द्र धरालाले जानकारी दिए ।

तुइनमार्फत यातायातका साधन तार्दा क्षति हुने गरेको छ । भेरी नदीमा फलामको लहरोमा गाडी तार्दा आस मारेर गाडी तार्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिकाका सुरेन्द्र सिंहले बताए ।
‘यात्रुबाट कमाएको सबै रकम गाडी तार्दा सकिन्छ,’ उनले भने, ‘कच्ची बाटोमा जीप चलाउँदा प्रत्येक साता मर्मत गर्नुपर्ने बाध्यता छ भने नदी पार गराउँदा लाग्ने खर्चले त झन् खर्च बढाउँछ । सरकारले छिटो पुल र सडकको स्तरोन्नति गरोस्, हामी भगवान् भरोसामा यातायातका साधन चलाउँछौं ।’
‘हाम्रो पीडा कसले बुझिदिने, त्यसमा पनि प्रहरी चौकीपिच्छे रकम बुझाउनुपर्छ ? कुनै बेला यो पेशा नै किन गरेछु भन्ने लाग्छ,’ उनले भने ।
उनी मात्र होइन, यो सडकमा यात्रा गर्ने जो कोही यात्रुहरू भगवानसँग प्राथना गरेर जीपमा चढ्ने गरेको बताउँछन् । यो बीचमा गाडीमा समस्या आए मर्मत गर्ने ठाउँ नहुँदा धेरै दिनसम्म कामविहीन भएर बस्नुपर्ने पीडा यातायात व्यवसायीको छ । - हेमन्त केसी/रासस