२४ जेठ २०८३, आइतबार

हिमपातले अवरुद्ध राजमार्ग १२ घण्टापछि सञ्चालनमा, टेलिफोन र इन्टरनेटमा समस्या

हिमपातले अवरुद्ध राजमार्ग १२ घण्टापछि सञ्चालनमा, टेलिफोन र इन्टरनेटमा समस्या
फाइल फोटो

हिमपातका कारण शुक्रवार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ ।

शुक्रवार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौं यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि शनिवार बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा शुक्रवार रातिदेखि अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतिर लागिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको मुख्य राजमार्ग रहेको भीमदत्त राजमार्गमा शुक्रवार बेलुकी ४ बजेदेखि यातायात सेवा बन्द भएको ट्राफिक प्रहरी पोस्ट बुडर डोटीले जनाएको छ । डडेल्धुराअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको गैराका स्थानीय मोहन मल्लले जानकारी दिए ।

हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा, बैतडी जोड्ने दशरथचन्द राजमार्ग पनि सञ्चालन भएको छ । हिमपातका कारण राजमार्गमा रोकिएका सवारीसाधन तथा यात्रुहरू राजमार्ग सञ्चालन भएपछि अहिले आफ्नो गन्तव्यतिर लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाक्लो हिमपातले क्षति गरेका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । हिमपातका कारण टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि पहाडी जिल्ला शुक्रवारदेखि सञ्चार सम्पर्कविहीन हुन पुगेका छन् ।

बिहीवार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमको दिपायलस्थित राजपुर कार्यालयले जनाएको छ ।

अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनका लागि शुक्रवारदेखि नै कर्मचारी खटिएको भएपनि हिमपातका कारण सञ्चालन गर्न नसकिएको सो कार्यालयका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाका सञ्चारकर्मीले आफना सञ्चार प्रकाशन तथा प्रसारण केन्द्रमा समाचार पठाउन सकिरहेका छैनन् ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि शुक्रबार दिउँसो डोटीमा बैंकिङ कारोवारसमेत प्रभावित भएको थियो । इन्टरनेट सेवा नहुँदा बैंकिङ कारोवार बन्द भएपछि सेवाग्राही रित्तो हात फर्किएका थिए ।

निजी कम्पनीको वल्डलिंक तथा सुबिसुद्वारा वितरित इन्टरनेट सेवा र एनसेलको फोन सेवा भने सञ्चालन रहेको छ । उक्त कम्पनीका नेट जडान भएका बैंकहरूमा भने शुक्रवार कारोबार भएको दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले जानकारी दिए । 

हिमपातका कारण डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा पटक–पटक इन्टरनेट सेवा अवरुद्ध हुँदा सुदूर पहाडका स्थानीयलाई निकै सास्ती भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्