
नेकपाका नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताएका छन्।
भ्रमण वर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको बताए।
‘पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आर्कषित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन,’ उनले भने, ‘एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।’
नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्ने बताए।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भए पनि विकासको मूलधारमा आउन नसकेको बताए।
‘दोधारा चादँनीको सुख्खा बन्दरगाहदेखि पश्चिम सेती परियोजनाजस्ता यहाँका राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्,’ उनले भने, ‘अब प्रदेशको विकासका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ ।’
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।