
ठगी आरोपमा पायोनियर इलेक्ट्रो केबल प्रालिका महिंक सारडालाई प्रहरीले पक्राउ गरेको छ ।
महिंक पायोनियर केबलका मालिक हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार पायोनियरबाट उत्पादित विद्युत्का तार निर्धारित लम्बाइभन्दा कम पाइएको छ । साथै, यसको तौल पनि तोकिएभन्दा कम छ । पायोनियरको तार उत्पादन हुने कारखाना विराटनगरमा छ भने बिक्री केन्द्र थापाथलीमा छ । प्रहरीले शुक्रबार थापाथलीस्थित गोदाममा छापा मारेर विभिन्न परिणामका विद्युत्का तारका रोल बरामद पनि गरेको थियो ।
अनुसन्धानका क्रममा ग्राहकलाई सय मिटर भनेर बिक्री गरिएको तार ८६ मटिर मात्रै भेटिएको थियो । यस्तै, तारको तौलमा पनि रोलपिच्छे फरक परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कुनै रोलमा ३१ किलो पाइएको छ भने सोही ट्याग लगाइएको कुनैमा २९ किलो मात्रै रहेको पाइएको छ । अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले पायोनियरबाट ग्राहक ठगिने गरेको बताए । उनले भने, ‘पायोनियर केबलले ग्राहक ठगेको भेटियो । सामान्यतः तारको एक रोलमा सय मिटर हुने मान्यता छ ।’
प्रहरीका अनुसार शुक्रबार काठमाडौंका एक ग्राहकले पायोनियरबाट उत्पादित ३÷२२ तारको एउटा रोल खरिद गरेका थिए । रोलको ट्यागमा तारको लम्बाइ सय मिटर उल्लेख थियो । शंका लागेपछि उनले तारको नाप लिएका थिए । तार नाप्दा लम्बाइ सय मिटर नभई ८६ मिटर मात्रै रहेको भेटियो । त्यसपछि उनले कम्पनीमा खबर गरेका थिए । तर, कम्पनीले उनलाई कुनै जवाफ दिएन । त्यसपछि उनी उजुरी लिएर प्रहरी कार्यालय पुगे । प्रहरीले उनले लिएको तारको रोल अनुसन्धान गर्यो । सो क्रममा तौल पनि कम भएको खुलेपछि पायोनियरको बिक्री केन्द्रमा छापा मारहेको थियो । घटनाको थप अनुसन्धान गर्न भन्दै प्रहरीले तत्काल कम्पनीका मालिक महिंक सारडालाई पक्राउ गर्यो ।