०८ असार २०८३, सोमबार

अलराउन्डर पठानले गरे क्रिकेटबाट संन्यासको घोषणा

पुस २०, २०७६
अलराउन्डर पठानले गरे क्रिकेटबाट संन्यासको घोषणा

भारतीय अलराउन्डर इर्फान पठानले शनिबार सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्न्यास घोषणा गरेका छन् ।

सन् २००४ मा अस्ट्रेलियन कप्तान स्टिभ वाँ र एडम गिलक्रिस्टलाई लगातार रिभर्स बलमा आउट गर्दै पठान एकैपटक अन्तर्राष्ट्रिय जगत्मा छाएका थिए । २००७ मा भारतलाई टी–२० विश्वकप उपाधि दिलाउँदा प्रमुख भूमिका निर्वाह गरेका पठान भारतले पाएकामध्ये राम्रा अलराउन्डर खेलाडीमा पर्छन् । 

विश्वकै दिग्गज खेलाडीसँग ड्रेसिङ रुममा पार्टनरका रूपमा रहन पाउँदा आफूलाई भाग्यमानी खेलाडी मानेको पठान बताउँछन् । ‘म निकै भाग्यमानी खेलाडी हुँ, मैले सचिन, गांगुली, लक्ष्मण र द्रविडजस्ता हस्तीसँग ड्रेसिङ रुम सेयर गर्ने अवसर पाएँ,’ सन्न्यास घोषणा गर्दै उनले भने, ‘मलाई अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ 

गत वर्ष इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा विक्री नभएपछि उनी फ्रेन्चाइज क्रिकेट लिगमा देखा परेका छैनन् । युवालाई मौका दिन र संन्न्यासको उचित समय आएकाले आफू क्रिकेटबाट टाढिएको उनले बताएका छन् । ‘अहिले युवालाई पालो दिनुपर्ने वेला आएको छ, यसका साथै यो समय सन्न्यास लिने उचित समय भएजस्तो लाग्छ,’ संन्न्यास लिनुको कारण जनाउँदै पठानले भने । 

पठानले २००७ को टी–२० फाइनल र पाकिस्तानविरुद्धको टेस्टलाई अविस्मरणीय खेलका रूपमा लिएका छन् । टी–२० विश्वकपको फाइनलमा उनले पाकिस्तानविरुद्ध १६ रन दिएर तीन विकेट लिएका थिए । क्रिकेट इतिहासमा पहिलो ओभरमै ह्याट्रिक लिने उनी पहिलो बलर हुन् ।

सन् २००३ मा पठानले अस्ट्रेलियाविरुद्ध टेस्ट र एकदिवसीय खेलमा डेब्यु गरेका थिए । पठानले भारतका लागि २९ टेस्ट, १२० एकदिवसीय र २४ टी–२० खेलमा कुल ३०१ विकेट लिएका छन् । ब्याटिङतर्फ पठानले टेस्टमा एक शतक र ६ अर्धशतक बनाएका छन् ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्