
समाजवादी पार्टी नेपालले राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि उम्मेदवारहरू टुंगो लगाएको छ । राजधानीमा उपलब्ध पदाधिकारीहरूको शनिवार र आइतवार बसेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
समाजवादी पार्टीबाट प्रदेश १ मा भरत दाहाल, ज्ञानराज परियार र सविना खातुन्, प्रदेश २ मा रामप्रित पासवान र अनिरुध सिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादवले उम्मेदवारी दिने तय भएको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
निर्वाचनका लागि समाजवादीले प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग तालमेल गरेको छ । पार्टीको विशेष प्रभाव रहेको प्रदेश २ मा उसले कांग्रेससँग २/२ सीट भागबण्डा गर्ने गरी तालमेल गरेको हो ।
'प्रदेश २ मा कांग्रेससँग तालमेल गर्ने र अन्य प्रदेशमा आवश्यकता हेरी प्रदेश नेतृत्वले निर्णय लिन सक्ने निर्णय भएको छ,' पाण्डेले भने ।
प्रदेश २ मा प्रमुख सत्तारुढ दल नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरेको छ ।
राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ मध्ये १८ पदका लागि आगामी माघ ९ गते निर्वाचन हुने कार्यक्रम छ । त्यसका लागि आज (आइतवार) उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।
रिक्तमध्ये एक सीटमा भने राष्ट्रपतिले मनोनित गर्नेछिन् ।