
विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम शुरू गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो ।
सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम शुरू भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको वेब पोर्टलमा ६४६ जना विज्ञले नाम दर्ता गराएका छन् । बिहीबार आर्थिक विकासमा डायस्पोराको भूमिका विषयमा छलफल भएको थियो ।
छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाहेक विभिन्न देशका छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने बताए। 'यसका यो वा ऊ त्यस्तो केही हुने छैन,' यसमा कोही कसैलाई पक्षपात नगरिने स्पष्ट पार्दै उनले भने, 'सेन्टरलाई विस्तारै स्वायत्त र आत्मनिर्भर निकायका रूपमा सिर्जना गर्नेछौँ ।'
सरकारको नीति, योजना र मन्न्त्रालयसँग जोेडेर विज्ञलाई हौसला दिन सरकार पनि सँगै जोडिएर अघि बढ्ने उनले बताए। तत्काल विश्वका छरिएका पाँच हजार विज्ञलाई ब्रेन गेन सेन्टरको सञ्जालमा आबद्ध गराएर अघि बढ्न सकिने सम्भावना रहेको उनलेबताए। स्रोत र साधनका लागि सरकारको उपस्थिति रहेकाले ढुक्क रहन उनले आश्वस्त पारे।
सेन्टरका नीति तथा योजना महाशाखाका प्रमुख कुमारराज खरेलका अनुसार अमेरिकामा कार्यरत विज्ञ समूहले गोरखा र गुल्मीमा प्रारम्भिक चरणको परियोजना शुरू गरेको छ । चितवन र गण्डकीको थप दुई जिल्लामा काम शुरू गर्ने तयारी भइरहेको उनले बताए।
कृषि, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासँग जोडिएर काम थालनी भएको अमेरिकाका विज्ञ डा. सतिश देवकोटाले बताए। सिकागोमा छलफलले तयार पारेको दिशानिर्देशअनुसार विज्ञ परिचालन गरिएको छ । 'यस परियोजनाले सफलता पाएमा अन्य जिल्लामा पनि परियोजना सञ्चालन गर्न सरकारलाई सिफारिस गरिनेछ,' उनले थपे, 'सधैँ एकअर्कासँग झगडा गर्नुभन्दा देश विकासका लागि राष्ट्रिय सहमतिसहित बढ्दा अझ राम्रो प्रतिफल आउनसक्छ ।'
अर्थविद् विश्व पौडेलले विदेशमा रहेका नेपालीलाई स्वदेशमा आकर्षण गर्न पाँच वर्षमा देशभित्र पाउन सक्ने रोजगारीका अवसरको पहिचान गर्न सुझाए। डा. लक्ष्मी देवकोटाले नेपालको जलभण्डारको उपयोग फरक धारमा गर्न डायस्पोराको सहयोगसँगै अगाडि बढ्न सकिने धारणा व्यक्त गरे।
स्वायत्त निकाय बनाउनुपर्छ
अर्थविद् डा. स्वर्णिम वाग्लेले आईबीएन मोडल, सेमी अटोनोेमस मोडल र अध्ययन मोडलमा ब्रेन गेन सेन्टरले काम गर्न सक्ने सुझाव दिए। डा. भीमराज खनालले सेन्टरलाई स्वायत्त निकायका रूपमा अघि बढाउन आग्रह गर्नुभयो । पूर्व मुख्य सचिव विमल कोइरालाले स्वायत्त निकायका रूपमा अघि नबढाउँदा पछि निरपेक्षता उत्पन्न हुन सक्नेतर्फ ध्यानाकर्षण गराए।
चुनौती अनेक
देशभित्रको माग पूरा गर्न विज्ञ आफैँले पनि पहल गरेर अगाडि बढ्न सक्ने अर्थविद् डा. शङ्कर शर्माको सुझाव छ । महिलाको पाठेघरको क्यान्सर, अस्पताल व्यवस्थापनजस्ता अभियानसँगै विज्ञ देश भित्रन सक्ने उहाँको भनाइ छ तर चुनौतीका रूपमा रहेका प्रशासनतन्त्र, सरुवामैत्री प्रशासन र जोखिम बोक्न नचाहने प्रवृत्तिको ख्याल राख्नुपर्ने उनको सुझाव थियो ।
घर र कर्मको पुलका रूपमा विदेशमा रहेका कूटनीतिक नियोगहरूलाई घेराबाहिर काम गर्ने अवसर सिर्जना गर्न सकेमा आधा काम उतैबाट हुनसक्ने परराष्ट्रविज्ञ दिनेश भट्टराईको सुझाव छ । 'देशभित्र टिमवर्क, अध्ययन अनुसन्धान तथा तथ्याङ्कको कमी रहँदा विकासको लक्ष्य पहिचान गर्न कठिन छ,' उनी थप्छन् । डा. सूर्यराज आचार्यले स्रोतसाधन र क्षमताको कमीलाई डायस्पोराको माध्यमबाट देशले पूर्ति गर्ने विभिन्न उपाय बताए।
अवसर प्रशस्त
त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खड्ग केसीले पछिल्लो समय विश्वविद्यालयमा डायस्पोराको ज्ञान प्रयोग गर्ने अवसर रहेको बताए। उहाँका अनुसार त्रिविले ३१ वटा दरबन्दी विश्व बैङ्कसँगको सहकार्यमा पूरा गर्ने गृहकार्य गरिरहेको छ ।
विज्ञ आनन्द भण्डारीले विदेशिने ब्रेन रोक्ने विषयमा सँगै काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय पुँजी निर्माण गर्न कृषि सुधार, कृषि यन्त्रको उत्पादनसँगै शिक्षा र पर्यटनको विकासमा विदेशी ज्ञानको पहुँच बढाउन सकिने उनले सुझाए ।
सहयोग गर्छौं : डा. भट्टराई
छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको विकासका लागि सघाउन आफू र आफ्नो पार्टी सघाउन तयार रहेको बताए। विश्व विकासको चर्चा गर्दै उनले भने , 'हामीसँग समय छैन, प्रतिभा पलायन रोक्ने र विकासका ‘ब्रेक थ्रु’ गर्ने मामलामा हामी सरकारसँग छौँ ।' अहिलेको दुई तिहाइको सरकारसँग त्यो अवसर रहेकाले पनि सहजताका साथ अगाडि बढ्न सक्ने उनले सुझाए । गोरखापत्र दैनिकमा खबर छ ।