
नेपालमा बसेर चीनमा अपराध गरेको आरोपमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधवार २ वटा विमान चार्टर्ड गरेर चीन फिर्ता गर्ने तयारी भएको छ ।
चिनियाँलाई पुस २३ गते नेपालबाटै २ वटा विमान चार्टर्ड गरेर सिधै चीन पठाउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
चिनियाँमाथि अनुसन्धान गरेर २ दिनमा चीन डिपोर्ट गर्न लागिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
‘हामीहरूले अनुसन्धान गरिरहेका छौं । धेरैजसो चिनियाँ नागरिकहरूको भिसा नभएको देखिएको छ । कागजपत्र मिलाउँदैछौं, त्यसपछि उनीहरूलाई चीन डिपोर्ट गर्छौं,’ निर्देशक तिवारीले लोकान्तरसँग भने ।
पक्राउ परेका १२२ जना चिनियाँ नागरिकसँग भिसा सकिएको छ । कतिपय चिनियाँ पासपोर्ट नभएकाहरूले अध्यागमन ऐन अनुसार कारवाही हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
‘उनीहरूले अहिलेसम्म कुनै पनि अपराध गरेको नदेखिएकाले विना भिसा अध्यागमन ऐन अनुसार उनीहरूलाई चीनमा डिपोर्ट गर्न लागेका छौं,’ पौडेलले लोकान्तरसँग भने ।
अध्यागम ऐनमा कुनै विदेशीले नेपाल ‘ओभर स्टे’ भएको खण्डमा वा अपराध गरेको खण्डमा ५० हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद भनिएको छ ।
‘उनीहरूले कुनै पनि अपराध गरेको देखिँदैन । भिसा नभएकाले उनीहरूलाई आवश्यक कागजात मिलाएर डिपोर्ट गर्न लागेका छौं,’ महानिर्देशक पौडेलले लोकान्तरसँग भने ।
अध्यागमन ऐनको नियम १०(१) मा भनिएको छ, ‘अध्यागमन अधिकृतले कुनै विदेशीको हकमा अपराधको तहकिकात पूरा गरी महानिर्देशक समक्ष प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनको आधारमा महानिर्देशकले तोकिए बमोजिम नियमित गर्नुपर्ने कुराहरूको हकमा नियमित गरी त्यस्तो विदेशीलाई नेपाल सरकारको स्वीकृति लिई अवधि तोकि वा नतोकि पुनः नेपालमा प्रवेश गर्न नपाउने गरी नेपालबाट निष्कासन गर्न सक्नेछ ।’