भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताएकी छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार गुठी विधेयक सम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयक विरुद्धको संघर्ष समितिसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फी रुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताइन्।
‘देशभर फरकफरक प्रकृतिका गुठी छन् । एउटै विधिले सबै गुठीको समस्या समाधान हुन सक्दैन,’ उनले भनिन्, ‘गुठीको मर्म, भावनालाई संरक्षण गर्नका निम्ति तपाईहरूकै सुझावअनुसार प्राधिकरण अगाडि सारेका हौं।’
मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठी सम्बन्धी कानुन राम्रो बनाउन लागेको भन्दै मन्त्री अर्यालले त्यसमाथी आशंका नगर्न समेत आग्रह गरिन्।