
एसिया बाहिरकै सबैभन्दा अग्लो (६,९६२ मिटर) अकोङकवा हिमालको चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो पुर्याएर नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ।
पर्यटन व्यवसायी तथा आरोही गाइड टासी लाक्पा शेर्पाको नेतृत्वमा ५० बढी विदेशी र नेपाली आरोहीको टोलीले भ्रमण वर्षको प्रचार गरेको हो।
दक्षिण अमेरिकामा रहेकाे अकोङकवा चुचुराे आरोहणमा अर्जेन्टिना, चीन, जापान, रसिया, जर्मन, नर्थ अमेरिका, स्पेन, फ्रान्सका गरी ५० जना बढी आरोही रहेको आरोही गाइड कर्मातेन्जिङले बताए।

नेपाली र विदेशी आरोहीले एकै पटक चुचुरोबाट नेपाल भ्रमणका लागि सबैलाई आव्हान समेत गरेका थिए। साउथ अमेरिका र अर्जेन्टिनामा रहेको उक्त हिमालमा यो टोलीले पुस १९ चुचुरोबाट नेपाल भ्रमणको निम्तो गरेको सेभेन समिट ट्रेकका प्रवन्ध निर्देशक तथा आरोही लिडर टासिलाक्पा शेर्पाले बताए। यो टोलीले नेपाल भ्रमण वर्ष २०२० को लोगो चुचुरोमा फहराएका थिए।
सात महादेशका अग्ला शिखरमध्ये अकोङकवा हिमाल मुख्य हो। सेभेन समिट पूरा गर्न यो हिमाल आरोहण गर्नुपर्ने हुन्छ। आरोही गाइड तथा पर्यटन व्यवसायी टासिको नेतृत्वमा सात महादेशका सातै वटा अग्लो शिखर आरोहण गरेर थप नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको बताए।
पर्वतारोहण क्षेत्र नेपालको गुणस्तरीय पर्यटन क्षेत्र भएको भन्दै विश्वभरबाट नेपाल भ्रमणको प्रचार गर्नुको विकल्प नभएपछि प्रचारमा लागि परेको शेर्पाको भनाइ छ।