०३ असार २०८३, बुधबार

निर्धारित समय भित्रै मेलम्चीको पानी ल्याउन मन्त्रालयमा छलफल

निर्धारित समय भित्रै मेलम्चीको पानी ल्याउन मन्त्रालयमा छलफल

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे आज बुधबार सिंहदरबारमा छलफल गरेकी छिन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्था बारे जानकारी लिएकी हुन् ।

छलफलमा उनले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिइन् ।

उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगति बारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिइन् ।

छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।

अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समय अघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी) लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधि भित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ ।

टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजनाअन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध–चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ ।

यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्