२६ असार २०८३, शुक्रबार

लाख दिएर करोड असुल्ने साहुकार यादव भेष बदलेर भाग्दै गर्दा पक्राउ, रौनियारको खोजी

पुस २४, २०७६
लाख दिएर करोड असुल्ने साहुकार यादव भेष बदलेर भाग्दै गर्दा पक्राउ, रौनियारको खोजी

लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । 

आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको हो । सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए । हरिपुर–१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए । केहीबेर प्रहरीसँगको भनाभनमा उनले हातपातको प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक राठौरले बताए । ‘रामबाबु भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर पक्राउ गरेको छ,’ डिएसपी राठौरले भने । 

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले यादवको ठगीधन्दा नयाँ पत्रिकाबाट बाहिरिएपछि पक्राउ गर्न सहज भएको बताए । ‘हामीलाई पीडितहरूको औपचारिक/अनौपचारिक उजुरी आइरहेका थिए । तपाईंहरूले पनि सार्वजनिक गरिदिएपछि पक्रिन सहज भयो,’ एसपी पोखरेलले नयाँ पत्रिकासँग भने । 

रायलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार रायविरुद्ध बुधबार मात्रै २० भन्दा धेरै लिखित उजुरी परेका छन् । मौखिक उजुरी दिनेको संख्या झन् धेरै छ । अधिकांश जाहेरी ठगी मुद्दाअन्तर्गत रहेको एसपी पोखरेलले बताए । ‘अधिकांश उजुरीमा ठगी मुद्दा आकर्षित हुन्छ । अनुसन्धान सुरु भइसकेको छ । उजुरीको सूक्ष्म अध्ययन गरेर कानुनअनुसार मुद्दा चलाउँछौँ,’ पोखरेलले भने । आवश्यक कागजात अध्ययनका लागि प्रहरीले रायको घरमा पनि छापा मार्ने तयारी गरेको छ । उनी, उनका परिवार र आफन्तको नाममा रहेको बैंक खातासमेत अध्ययन गर्नेछ । खातामा भएको सम्पूर्ण ट्रान्जेक्सनको गहन अध्ययन गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ ।  नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्