
सुदूरपश्चिम प्रदेशका ५ स्थानीय तह अझैं पनि बैंकिङ सेवाको पहुँच बाहिर रहेका छन् ।
प्रदेश सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याएर वित्तीय साक्षरता अभियानलाई तीव्रता दिने नीति लिएको भएपनि अझैसम्म बैंकिङ सेवा पुग्न नसकेको हो ।
नेपाल राष्ट्र बैंक धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुरा जिल्लास्थित केही स्थानीय तह अझैं पनि बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा बाहिर रहेका छन् ।
बझाङस्थित काँडा र थलरा गाउँपालिका तथा बाजुराको पाण्डवगुफा र गौमुल गाउँपालिकामा बैंक पुग्न नसकेको हो । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले ५ गाउँपालिकामा अझैंसम्म बैंक शाखा पुगेकोबारे जानकारी नआएको बताए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयले हालै वित्तीय सम्मेलन गरी सबै तहमा वित्तीय पहुँच पुर्याउने उद्घोष गरेको थियो । सम्मेलनमार्फत पुस मसान्तमा हिमालयन बैंकले बाजुराको पाण्डपगुफा र स्वामी कार्तिक गाउँपालिकामा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो भने कुमारी बैंकले बझाङको थलरा गाउँपालिका र बाजुराको गौमुल गाउँपालिकामा शाखा विस्तार गर्ने जनाएको थियो तर अझैसम्म शाखा स्थापना गरिएको छैन ।
अत्यन्त विकट मानिने बझाङको काडा गाउँपालिकामा एभरेस्ट बैंकले शाखा विस्तार गर्नुपर्ने हो तर आधारभूत पूर्वाधार समेत नरहेको सो काँडा गाउँपालिकामा कहिलेसम्म शाखा विस्तार गरिनेबारे अन्योलता कायमै छ ।
ती स्थानीय तहमा बैंक विस्तार हुन नसकेपछि सदरमुकाममा रहेका बैंक शाखामार्फत ती स्थानीय तहले बैंकिङ कारोबार गर्दै आएको राष्ट्र बैंकले जनाएको छ तर भएका बैंकहरू भने जिल्ला सदरमुकाममै थुप्रिएका छन् । खासगरी प्रदेशको अस्थायी राजधानी धनगढीमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरू केन्द्रित भएका छन् ।
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा हालसम्म वाणिज्य बैंकका ६४७ वटा शाखा कार्यालय छन् । प्रदेशमा रहेका ७०२ बैंक तथा वित्तीय संस्थामध्ये ३२४ वटा बैंक तथा वित्तीय संस्था तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा केन्द्रित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
बैंक तथा वित्तीय संस्थाहरू शहर केन्द्रित भएपछि लगानी पनि शहरमै केन्द्र्रित भएको छ । प्रदेशभरको ८५ अर्ब कर्जामध्ये ७३ अर्ब कर्जामा योगदान कैलाली–कञ्चनपुरको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमको कर्जा प्रवाह देशभरको कर्जासँग तुलना गर्दा ३ प्रतिशत मात्रै हो ।