०८ साउन २०८३, शुक्रबार

राजश्व चुहावट विधेयक पारित

राजश्व चुहावट विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले राजश्व चुहावटसम्बन्धी विधेयक पारित गरेको छ ।  

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित भएको हो । विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । 

बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । आजकै बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ  ।

 बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘रेल्वे विधेयक, २०७६’ पनि पेश गरे ।
 
यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए ।

हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले  प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए ।

कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।

डा. खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र  विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि  उपयोगी हुने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ  ।

salt training

कमेन्ट गर्नुहोस्