
नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड काठमाडौंमा जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीवार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० सेटले पराजित गरेको हो ।
पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० अंकको जीत निकाल्यो । डायमण्डले पनि ढोरपाटन क्लबलाई २५–५, २५–१२ र २५–११ अंकले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिस र डायमण्डबीचको शुक्रवार हुने खेलले समूह ‘बी’को विजेताको टुंगो लाग्ने छ । बिहीवार समूह ‘ए’मा रहेको त्रिभुवन आर्मी क्लब र पोखरा टप्स माविबीच भएको खेलमा आर्मी ३–० सेटले विजयी भयो । आर्मीले पोखरा टप्सलाई २५–१३, २५–१६ र २५–७ अंकले हरायो । आर्मी र एपीएफबीचको खेल भने वर्षाका कारण हुन सकेन ।
पुलिस क्लब र न्यू डायमन्डबीच तथा पारामाउण्ट र एपीएफ क्लबबीच शुक्रवार खेल हुने आयोजक संस्थाले जनाएको छ । अर्को खेल आर्मी र पारामाउण्टबीच हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा एपीएफ, पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउन्ड तथा समूह ‘बी’मा आयोजक न्यू डायमण्ड, ढोरपाटन क्लब र नेपाल पुलिस क्लब छन् । विजेता टोलीले ४ लाख १०१, उपविजेताले ३ लाख १०१, तेस्रो हुनेले १ लाख ५१ हजार १०१ तथा चौथोले ५१ हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।