२८ जेठ २०८३, बिहीबार

५० फिटे सहकाले झरनामा पर्यटकको घुइँचो

५० फिटे सहकाले झरनामा पर्यटकको घुइँचो
फाइल फोटो

झापाको अर्जुनधारामा वर्षौंदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ ।

अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रमा आउन पर्यटकलाई आग्रह गरेको छ ।

पूर्वपश्चिम लोकमार्गको विर्तामोडबाट २० किलोमिटर उत्तर अर्जुनधारा नगरपालिका–२ मा रहेको यो झरना ५० फिट अग्लो छ । नयाँ पर्यटकीयस्थल भएको हुँदा यसअघि यहाँ स्थानीय खेताला गोठाला मात्र नुहाउन जाने गरेका थिए ।

अहिले झरनामा नुहाउन, हेर्न र फोटो खिचाउन टाढादेखि युवायुवती आउने गरेका छन् ।

प्राकृतिक रूपमा सुन्दर ठाउँमा रहेको यो झरना क्षेत्र इलामको रोङ गाउँपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिकासँग सिमाना जोडिएको झापाको अर्जुनधारामा पर्दछ । पहाडको बस्ती नजिकै रहेको यो झरना हेर्दा र वरिपरिको गाउँ घुम्दा दिन बितेको पत्तै नहुने स्थानीय यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई बताउँछन् ।

उनका अनुसार अचेल सो क्षेत्रमा पैदल, साइकल र गाडी रिजर्भ गरेर घुम्न जानेको घुइँचो लाग्ने गरेको छ । अर्जुनधारा, सुखानी, सालबारी, साधुटारजस्ता धार्मिक तथा ऐतिहासिकस्थलमा आउने पर्यटक झरना पुग्ने रहरले सहकाले जाने गरेको हुँदा सरकारले त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार थप्नुपर्ने उनको सुझाव छ ।

पर्यटकका लागि आकर्षक एवं सुविधाजनक बनाउन अर्जुनधारा नगरपालिकाले झरना नजिकको साठीमुरे डाँडोमा श्रीकृष्ण मन्दिर र होमस्टे (घरबास) लगायतका संरचना बनाउने योजना अघि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल बताउँछन् । हाल साठीमुरेसम्म मोटर बाटो पुग्छ भने झरना क्षेत्र पुग्न केही समय पैदलयात्रा गर्नुपर्छ ।

सहकाले क्षेत्र एकदम सुन्दर, रमणीय र आकर्षक गन्तव्य रहेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । बस्तीदेखि १ किलोमिटर टाढा पहाडको टुप्पाबाट छङ्छङ् गर्दै सहकाले झरनाको पानी टाङटिङ खोलामा बगेर मिसिने गरेको छ । झरनाको फेदको पानीमा तिते र असला प्रजातिका माछा पाइने गरेको छ । 

यो झरना नजिक पर्यटकलाई आकर्षण गर्ने गुफासमेत रहेको नगर प्रमुख रानाले जानकारी दिए । धेरै वर्षसम्म ओझेलमा परेको र अहिले आन्तरिक पर्यटक मात्र आउनेजाने गरेको हुँदा बाह्य पर्यटकसमेत कसरी भित्र्याउन सकिन्छ भनेर नगरपालिकाले स्थानीयवासी, पर्यटनसँग सरोकार राख्ने संस्था र सञ्चारकर्मीसँग छलफल चलाइरहेको नगर प्रमुख रानाले बताए ।

झापामा शिवसताक्षी मन्दिरदेखि ३ किलोमिटर उत्तर इलामको सिमानामा समेत सताक्षी झरना छ । अब योसमेत गरी झापामा २ वटा झरना सहितको पर्यटकीय गन्तव्यस्थल पहिचान भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्