०६ साउन २०८३, बुधबार

बंगुरपालन गरेर कमाइ गर्दै विद्यार्थी

बंगुरपालन गरेर कमाइ गर्दै विद्यार्थी
फाइल फोटो

स्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरू विदेशिएका हुन्छन् ।

धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने संख्या बढ्दै जान थालेको छ तर दाङका एक विद्यार्थीले बंगुरपालन गरेर आफैं स्वरोजगार बनेका छन् ।

दाङ घोराही–७ राजपुर निवासी टोपबहादुर बुढाथोकीले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले बबई बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय शुरू गरेका हुन् ।

‘म विद्यार्थी हुँ, विद्यालयबाट बाँकी रहेको समयलाई बंगुरपालन पेशामा समर्पण गरेको छु,’ उनले भने, ‘यसले मलाई स्वरोजगार पनि बनाएको छ ।’

उनले करीब ६ महिनाअघि व्यावसायिकरूपमा बंगुरपालन व्यवसाय शुरू गरेका हुन् । बैंकबाट ऋण लिएर ९ लाख रुपैयाँको लगानीबाट बुढाथोकीले बंगुरपालन व्यवसाय शुरू गरे । अहिले उनले २६ बंगुर पालन गरेका छन् । ल्यानरुप जातको ११ र घरानो जातका १५ बंगुरपालन गरेको उनको भनाइ छ । 

५ कठ्ठा जग्गामा उनले बंगुरपालनका लागि खोर निर्माण गरेका छन् । अहिले १३ कोठा रहेको खोर बनाएका छन् । यसमा ५१/५२ वटा अटाउन सक्ने क्षमताको रहेको बुढाथोकीले बताए ।

शुरूमा समाजमा धेरैले बंगुरपालन गर्न थालेको भनी खिसीट्युरी गर्ने गरेको भएपनि पछिल्लो समय यसबाट धृरैले पाठ सिक्न थालेको समेत उनको भनाइ छ । ‘हाम्रो समाजको सोचाइ पनि गलत रहेको छ,’ बुढाथाकीले भने, ‘समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी छ ।’

उनले अहिले २ जनालाई रोजगारीसमेत प्रदान गरेको बताए । व्यवसाय विस्तारसँगै थप रोजगार सिर्जना गर्न सकिनेसमेत उनको भनाइ छ । उनले आगामी दिनमा कृषि क्षेत्रबाट अघि बढ्नेसमेत बताए । ‘कृषिको राम्रो सम्भावना रहेको छ, त्यसैले यसै क्षेत्रलाई अगाडि बढाउने सोच रहेको छ,’ बुढाथोकीले भने । 

बंगुरपालनसँगै बाख्रापालन व्यवसाय पनि अगाडि बढ्ने बताए । विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाए मनग्य आम्दानी गर्न सकिने भन्दै स्वदेशमै पसिना बगाउन थालेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्