
महत्त्वपूर्ण निर्णयसहित राष्ट्रिय पुनर्निमाण परिषदको पाँचौ बैठक सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले २०७२ सालको विनाशकारी भुकम्पदेखि हालसम्म गरेको कार्यप्रगति सन्तोषजनक भएको, बाँकी कामहरुको समस्या सामाधान गर्दै समयमा सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिने र प्राधिकरणले हासिल गरेका अनुभवलाई संकलन, संग्रह र लिपिवद्ध गर्न निर्देशन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीले प्राधिकरणले गरेको कार्यप्रगतिलाई प्रशंसा व्यक्त गरे । बैठकमा नेकपा नेतृ तथा सांसद पम्फा भुसाल, अग्नि सापकोटा, हरी अधिकारी लगायतले आफ्नो क्षेत्रमा पुनर्निमाणको सन्दर्भमा केही समस्या अझै बाँकी रहेको र त्यसलाई प्राधिकरणले सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिँदै पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले सम्पूर्ण समस्यालाई सम्बोधन गर्दै प्राधिकरणले समयमा नै पुनर्निमाणको काम सम्पन्न गर्न लागिपरेको बताए ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म प्राधिकरणको तर्फबाट भए गरेका नीतिगत, भौतिक र वित्तीय कार्यको प्रगति र आगामी दिनमा प्राधिकरणले गर्न बाँकी रहेको कामको विषयमा जानकारी राखेका थिए ।
निजी आवास पुनर्निमाणतर्फ ६२ प्रतिशत कार्य सम्पन्न भएको, ५ लाख ६८ हजार ९ सय ६७ गुनासो सुनुवाइ भएको र ९ वटा एकीकृत बस्ती सम्पन्न गरेको प्राधिकरणका प्रमुख ज्ञवालीले जानकारी गराए ।
ज्ञवालीका अनुसार प्राधिकरणले अहिलेसम्म शैक्षिक क्षेत्र, सरकारी भवन र पुरातात्विक क्षेत्रमा तीव्र गतिमा काम गरिरहेको छ । अहिलेसम्म प्राधिकरणले २ खर्ब ७६ अर्ब खर्च गरेको छ भने बाँकी काम पुरा गर्न प्राधिकरणलाई अझै ३ खर्ब ५४ अर्ब रुपैंयाको आवश्यकता भएको प्राधिकरणका प्रमुख ज्ञवालीले बताए ।
प्राधिकरणका प्रमुख ज्ञवालीका अनुसार प्राधिकरणले पुनर्निमाणको पैसा पूर्ण पारदर्शिताका साथ आम जनताको हातमा बैंकिङ प्राणालीमार्फत पुर्याउने गरेको छ ।
नेपालले पुनर्निमाणको क्षेत्रमा छोटो समयमा पारदर्शितासहित गरेको कामको अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गरेर पत्रहरुसमेत पठाएको ज्ञवालीले बताए ।
धरहरा पुनर्निमाणको काम १ वर्षभित्रमा र आगामी वैशाखसम्म रानिपोखरी पुनर्निमाण सम्पन्न गर्नेगरी काम भइरहेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।