२९ असार २०८३, सोमबार

पाम तेलको निर्यात ठप्प

पुस २६, २०७६
पाम तेलको निर्यात ठप्प

 आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ ।

पाम तेलकै कारण निर्यातमा निकै ठूलो फड्को मारेको नेपालका लागि व्यापार घाटा कम गर्न यसको महìवपूर्ण योगदान थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको यस्तो तेल भारत निर्यात भएको छ । यो नेपालबाट निर्यात भएका कुनै अन्य वस्तुमध्ये सबैभन्दा धेरै पनि हो ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमै प्रतिबन्ध लागेपछि त्यसको प्रभावबारे बिहीबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र उद्योगीबीच छलफलसमेत भएको छ । पाम तेल प्रतिबन्धपछि भारत सरकारको आधिकारिक धारणा खोज्दै नेपाल सरकारको तर्फबाट अनौपचारिक कुराकानी भइसकेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

आयात प्रतिबन्धको कुरा आएपछि हामीले भारतीय अधिकारीसँग यसबारे कुराकानी गरिसकेका छौँ, उहाँले भन्नुभयो । भारतीय अधिकारीबाट यसबारे अहिलेसम्म उत्तर प्राप्त नभइसकेको उहाँले बताउनुभयो ।
दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र
(साफ्टा)अन्तर्गत नेपालबाट हुने निर्यातमा सहुलियतपूर्ण सुविधा रहेकाले अन्य देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात हुँदै आएको छ ।

यसो हुँदा पाम तेलको भन्सार शुल्क कम तिरे पुग्ने सुविधा नेपाली उद्योगीलाई छ । अन्य देशबाट आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत तोकिएकाले पनि नेपालमा अहिले पाम तेल प्रशोधन उद्योग फस्टाएका थिए । विराटनगर र वीरगञ्जमा गरी अहिले एक दर्जन पाम तेल प्रशोधन उद्योग सञ्चालनमा छन् । भारतमा साबुन तयार गर्न पाम तेलको प्रयोग बढी हुने गर्छ । यसबाहेक स्याम्पु, टुथपेस्ट र कतिपय खानेकुरामा पनि यसको प्रयोग हुने गर्छ । मलेसिया र इन्डोनेसिया सबैभन्दा धेरै पाम तेल उत्पादकमा पर्छन् । भारत विश्वमै सबैभन्दा धेरै पाम तेल आयात गर्ने देश पनि हो ।

संशोधनले झन् अन्योल
भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाए पनि यो मलेसियाका लागि मात्र लागू हुने दाबीसहितका समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशन प्रसारण गरेका छन् । दुई देशबीच पछिल्लो समय देखापरेको राजनीतिक समस्याका कारण भारतले यस्तो प्रतिबन्ध लगाएको सञ्चारमाध्यमको दाबी छ । यद्यपि संशोधित नीतिमा भने यसबारे उल्लेख छैन ।

नेपालले इन्डोनेसियाबाट पनि पाम आयात गर्ने भएकाले त्यहाँबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्न मिल्ने वा नमिल्ने भन्ने विषय झन् अन्योल बनेको हो । यद्यपि भारतले नीतिमा संशोधन गर्नासाथ नेपालबाट हुने यसको निर्यात
रोकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्