
कञ्चनपुरको दक्षिणी क्षेत्रका महिलाहरू सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् ।
बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरू माछापालनमा संलग्न रहेपनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताए ।
स्थानीय ढक्का चादँर गाउँका ३० जना थारू महिलाले कोपिला माछापालन समूह गठन गरेर करीब डेढ बिघा पोखरीमा माछापालन गरिरहेका छन् ।
‘माछापालन गरिरहेको दशक बितिसकेको भएपनि ताल व्यवस्थित गर्न सकिएको थिएन,’ कोपिला माछापालन समूहका अध्यक्ष सिद्धी चौधरीले भनिन्, ‘दातृ निकाय र स्थानीय तहको सहयोगमा ताल व्यवस्थित गर्नेदेखि प्राविधिक सहयोग मिलेपछि व्यवसायमा लाग्न थप हौसला मिलेको छ ।’
उनले माछापालनबाट वार्षिक १० लाख रुपैयाँसम्मको कारोबार भइरहेको बताउँदै खपतका लागि बजारको समस्या नरहेको बताइन् । ‘हामीले मागअनुसारको माछा बजारमा पुर्याउन सकेका छैनौं,’ उनले भनिन्, ‘स्थानीय उत्पादनले बजार पाउँदा भारतबाट आयात हुने माछामा समेत कमी आएको छ ।’
वडा सदस्य चौधरीले महिलाहरुले सञ्चालन गरेको माछापालन व्यवसायलाई बेलौरी नगरपालिकाले समेत पानीको निकास र अन्य व्यवस्थापनका लागि २ लाख ५० हजार सहयोग गरेको बताए ।
बेलौरी नगरपालिका–३ कर्णाली टोलमा पनि विगत ३ वर्षदेखि स्थानीय महिला सामूहिक माछापालनमा लागेका छन् । डेढ बिघा जमिनमा पोखरी निर्माण गरेर स्थानीय माछापालन गर्नाका साथै समूहमार्फत मासिक बचत र ऋण लगानीमा समेत जोड दिँदै आएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) को जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा ५ वटा स्थानमा माछापालन व्यवसाय भइरहेको छ ।
जीविकोपार्जन कार्यक्रका कार्यक्रम संयोजक राजकुमार सुनारले ५ वटा स्थानमा समूहलाई अनुदान रकम तथा अन्य प्राविधिक सहयोग गरेर आयमूलक काममा प्रेरित गर्दै आएको बताए । ‘५ वटा समूहमा करीब ३५ लाख रुपैयाँ अनुदान सहयोगदेखि माछाका भूरासमेत उपलब्ध गराएका छौं,’ उनले भने, ‘धेरै समूह मुनाफा कमाएर व्यवसायको दायरा बढाइरहेका पनि छन् ।’
यहाँको शोभाताल, बन्दाताल, बेलौरीको ढक्काचादँर, कर्णाली टोल र लालझाँडीको कसवा तालमा माछापालन भइरहेको बताए ।
‘पानीको सुविधाका लागि हामीले सोलार प्यानलसमेत जडान गरिदिएका छौं,’ सुुनारले भने, ‘विपन्न वर्ग र समुदायको आयस्तर बढोस् भन्ने उद्देश्यले ग्रामीण बस्तीसम्म कार्यक्रम पुर्याएका हौं ।’ उनले माछापालनमा लागेका कृषकलाई पछिल्लो समय स्थानीय तहहरूले पनि प्राविधिक तथा माछाको आहारा सहयोग गर्दै आएको जानकारी दिए । यहाँको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले चालू आर्थिक वर्षमा माछापालन व्यवसायको दायरा बढाउन नयाँ पोखरी निर्माणका लागि अनुदान आएको जनाएको छ ।
केन्द्रका पशु विकास अधिकृत देवदत्त भट्टले प्रतिहेक्टर ३ लाख रुपैयाँका दरले पोखरी निर्माणका लागि अनुदान आएको र त्यसका लागि सूचना गरिसकेको बताए । ‘यहाँ ३५ हेक्टरमा नयाँ पोखरी निर्माणका लागि अनुदान आएको छ,’ उनले भने, ‘आवेदनका लागि किसानलाई सूचना जारी गरिएको छ ।’ – शेरबहादुर सिंह/रासस