
नेपाल र भारतबीच देखिएका कालापानीसहित सीमासम्बन्धी समस्या छिटो समाधान गर्न माग गरिएको छ।
बौद्धिक वृत्त नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल–भारतसम्बन्धी गोष्ठी’ का वक्ताले कूटनीतिक तवरले सम्भव नभए राजनीतिक तहबाट समस्याको छिटो समाधान गरिनुपर्ने बताएका हुन्।
प्रबुद्ध व्यक्ति समूहका सदस्य सूर्यनाथ उपाध्यायले पछिल्लो समय भारतले आफ्नो नक्शामा राखेको कालापानी लिम्पियाधुराको विषय नेपालसँग भएका दस्तावेजका आधारमा समाधान गर्न सकिने बताए। काली नदीको मुहान लिम्पियाधुरा नै रहेको प्रमाण नेपालसँग सुरक्षित रहेकाले तथ्यका आधारमा कूटनीतिक एवं राजनीतिक तहबाट वार्ता गरी समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले दुई वटा संसदीय समितिले सरकारलाई नेपालको वास्तविक नक्शा सार्वजनिक गर भनी निर्देशन दिँदा पनि गर्न नसक्नुका कारण के हो स्पष्ट पारिनुपर्ने बताए।
‘अन्तरराष्ट्रिय कूटनीतिलाई दह्रोसाथ अघि बढाउँदै राष्ट्रिय एकता कायम गरेर कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सिमाना समस्या समाधान गरिनुपर्छ, तराई क्षेत्रको सीमा समस्यामा त्यहाँका जनता भिड्दा पनि सरकार मूकदर्शक बन्ने गरेको छ,’ उनले बताए।