
संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख छान्न नसक्दा प्रतिनिधिसभाको बैठक लगातार सूचना टाँसेर स्थगित भएको छ । संसदको हिउँदे अधिवेशन शुरू भएको दिन पुस ४ गते छोटो समयमा लागि बसेको बैठक त्यसपछि सूचनामार्फत स्थगित हुँदै आएको छ ।
सभामुख निर्वाचनका लागि दलहरूलाई गृहकार्यका लागि भन्दै पौष ४ गते एक सातका लागि संसदको बैठक स्थगित गरिएको थियो । पौष ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ गतेसम्मको लागि सारिएको थियो । १६ गतेको बैठक २७ गतेसम्म सूचनामार्फत नै स्थगित गरिएको थियो ।
आइतवारका लागि बोलाइएको बैठक पनि सूचनामार्फत नै माघ ६ गतेसम्मको लागि सारिएको छ । संसदका महासचिवले प्रकाशन गर्ने सूचनामा हरेक पटक ‘विशेष कारणबस’ भन्ने व्यहोरो उल्लेख गरिएको हुन्छ । त्यो विशेष कारण चाहिँ सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्नु हो ।
दलीय खिचातानीले पंगु भयो संसद
पौष १६ गते लामो समयका लागि संसदको बैठक स्थगित भएकोले केही सांसदहरू जिल्ला गएका थिए । आइतवारको बैठक चल्ने अपेक्षासहित उनीहरू रातारात राजधानी फर्केका थिए । ‘संसदको बैठककै कारण रातारात काठमाडौं आएको थिएँ, आजपनि सूचनामार्फत नै बैठक स्थगित भएछ,’ नेकपाका एक सांसदले भने ।
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरेर संसदलाई पंगु र निस्काम बनाउन खोजिएको भन्दै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका सांसदले आक्रोश पोखेका छन् ।
‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम हुने र बैठक सरिरहने ?जनप्रतिनिधि मुकदर्शक भइरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कण !’ डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।
जनताका समस्या राख्ने ठाउँ बन्द भयो
पटक-पटक सूचनामार्फत संसदको बैठक स्थगित हुँदा जनताका दैनिक समस्या र जनजीविकाको पक्षमा आवाज राख्न नसकिएको भन्दै स्वयं सांसदहरू असन्तुष्ट छन् । ‘संसदको मात्र होइन जनताको पनि अवमूल्यन भइरहेको छ । संसद त्यस्तो प्लेटफर्म हो जहाँ जनताको विभिन्न समस्या राख्ने ठाउँ हो,’ राजपाका सांसद लक्ष्मणलाल कर्णले लोकान्तरसँग भने, ‘संसद नचल्दा जनताका आवाज बन्द भएका छन् ।’
संसद सचिवालयका कार्यरत एक महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा असोज १४ यता सभामुखविहीन छ । नयाँ सभामुख निर्वाचनका लागि भन्दै संसदको हिउँदे अधिवेशन विगतमा भन्दा एक हप्ता पहिलेनै बोलाइएको थियो । तर हिउँदे अधिवेशनको एक महिना बैठक नै नबसी सकिएको छ । यो बीचमा राष्ट्रियसभाका कयौं बैठक बसेर नियमित काम भइरहेको छ ।
सूचना टाँस गरी संसद स्थगित गर्नु अनैतिक काम : पूर्वसभामुख
प्रतिनिधिसभाका पूर्व सभामुख तारानाथ रानाभाट संसद्का बैठक यसरी स्थगित गर्दा जनतामा वितृष्णा र अन्तर्राष्ट्रिय स्तरमा लज्जाबोध हुने बताउँछन् ।
‘संसद्का बैठक यस्तो हल्का ढंगले स्थगित गर्न मिल्दैन । दल विशेषको आन्तरिक किचालेका कारण संसद् बैठक स्थगित गर्नु नाजायज हो,’ पूर्वसभामुख रानाभाटले लोकान्तरसँग भने, ‘सानो निहुँमा संसद् बैठक सूचना टाँसेर स्थगित गर्नु संवैधानिक, राजनीतिक र नैतिक हिसाबले पनि लज्जास्पद् घटना हो ।’