
यात्रुबाहक बसमा हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फालेको १ वर्षअघिको घटनाका अभियुक्त २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
तनहुँको अरुणोदयमा घर भई चितवनको भरतपुर महानगरपालिका विकासचोक बस्ने रबिन रुचाल भन्ने रबिन सार्कीलाई महानगरीय प्रहरी अपराध महाखाशाले मंगलवार सार्वजनिक गरेको हो ।
गत वर्ष माघ ११ गते सामाजिक सञ्जाल फेसबूकमा १ जना यात्रुले हस्तमैथुन गरेर महिलाको कपालमा वीर्य फालेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।
हस्तमैथुन गरेको भिडियो ‘ओमेन्स् वारियर’ फेसबूक आईडी र पोर्न साइडमा अपलोड भएपछि भाइरल भएको थियो । भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल लगायत सबैतिर आलोचना भएको थियो ।
त्यसपछि महानगरीय प्रहरी अपराध महाशाखामा केही महिलाले भिडियो अपलोड गर्नेविरुद्ध उजुरी समेत दिएका थिए ।
महिलाको उजुरीपछि अभियुक्त खोज्न प्रहरी सुक्ष्म तरिकाबाट लागेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकूल थापाले पत्रकार सम्मेलनमा बताए ।
‘उजुरी परेपछि हामी सुक्ष्म तरिकाले अनुसन्धानमा लागेका थियौं । भिडियोमा कसैको पनि अनुहार नदेखिएकाले अनुसन्धान गर्न जटिल बनेको थियो,’ उनले भने ।
संगठन बाहिरबाट कम्प्यूटर इन्जिनीयर ‘हायर’
फेसबूकमा अपलोड गरेको भिडियोमा कसैको अनुहार नदेखिएकाले प्रहरीलाई अभियुक्त खोज्न धेरै अप्ठयारो परेको थियो । विभिन्न फेक आईडी निमार्ण गर्ने समूहले अपलोड गरेको हो कि भन्नेतर्फ प्रहरीले शंका गर्यो तर पत्ता लगाउन सकेन ।
त्यसपछि महानगरीय प्रहरी महाशाखाका प्रमुखका रुपमा एसएसपी सहकूल थापा आए । सामाजिक प्रतिष्ठाको विषय भएकाले उनलाई यो समस्याको समाधान गर्नु थियो ।
उनले संगठन बाहिरबाट कम्प्यूटर इन्जिनीयर ‘हायर’ गर्ने सोच बनाए । त्यसपछि उनले बाहिरका व्यावसायिक इन्जिनीयरलाई आग्रह गरे – कुन फेसबूकबाट भिडियो अपलोड भएको हो ? कहाँबाट गरिएको हो ? कुन मोबाइल प्रयोग भएको छ ? यी सूचना संकलन गरिदिनुपर्यो ।
प्रहरीको आग्रहमा ती इन्जिनीयरले ८ महिना लगाएर सबै सूचना संकलन गरे । त्यसपछि रबिनलाई अपराध अनुसन्धान महाशाखाको टोलीले चितवनबाट पक्राउ गर्यो ।
बानेश्वरमा रिस्सा चलाउँथे रबिन
पक्राउ परेका रबिन सार्कीले ३ वर्षअघि एउटा मसला उद्योगको रिक्सा चलाउने गरेको पत्रकार सम्मलेनमा एसएपी थापाले जानकारी दिए ।
‘रबिनले करीब ३ वर्षअघि एउटा मसला कम्पनीको रिक्सा चलाएर आफ्नो गुजारा गर्दै आएको अनुसन्धानमा देखिएको छ ।
भिडियो सार्वजनिक भएपछि भारत फरार
२०७५ माघमा भिडियो भाइरल भएपछि रबिन पक्राउ पर्ने डरले फागुन महिनामा भारत लुक्न गएको प्रहरीले बताएको छ । ‘पक्राउ पर्ने डरले भारत भागेर दिल्ली र काश्मीरमा गएर लुगेको भन्ने सोधपुछका क्रममा खुलेको छ,’ उनले भने ।
विकले भारतको दिल्लीमा करीब ३ महिना मःम उद्योगमा काम गरेर काश्मीरमा करीब ४ महिना बसेको र त्यसपछि पुनः चितवनमा बस्दै आएको प्रहरीले जनाएको छ ।