
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।
झापाका ८ नगरपालिका र ७ गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुंगेलले बताए ।
शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले जानकारी दिए ।
पार्टी एकीकरणपछि बनेको नेकपामा २ वर्षयता सदस्यको अद्यावधिक भएको थिएन । भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईं बताउँछन् । जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुंगेलले जानकारी दिए ।
उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट ८ हजार ६५७ सदस्य नेकपामा समाहित भएका छन् ।