
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा २ जनाको मृत्यु भएको छ ।
गत शुक्रवार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार ग१ख ६१७५ नम्बरको यात्रुवाहक बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खख्दा १८ जना घाइते भएका थिए ।
दुर्घटनामा परी घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नम्बर ३ का ४२ वर्षीया नानीमाया गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गत शनिवार आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै ग१ख ५९०० नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको बा८७प ३३१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मंगलवार मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट घाइते भएका गोरखा जिल्ला शहीद लखन गाउँपालिका–३ का ३० वर्षीय सन्तोष पोख्रेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उनले बताए ।